Logo

कांग्रेस १४औं महाधिवेशनः सहमहामन्त्रीको आठ पद, ३३ आकांक्षी



काठमाडौं, मंसिर २३ । नेपाली कांग्रेसको १४औं महाधिवेशनले १३ पदाधिकारीसहित १ सय ३४ सदस्यीय कार्यसमिति निर्वाचनमार्फत चयन गर्दै छ । विधानअनुसार कुल १ सय ६७ सदस्यीय केन्द्रीय समिति हुने भए पनि बाँकी भने मनोनीत हुने व्यवस्था विधानमा छ ।

कांग्रेसको यो महाधिवेशनलाई संघीय संरचनाअनुसारको नेतृत्व चयनका हिसाबबाट पनि महत्वपूर्ण रूपमा हेरिएको छ । कांग्रेस विधानमा एक निर्वाचित सभापति, दुई जना निर्वाचित उपसभापति, सोही संख्यामा निर्वाचित महामन्त्री र संविधानले व्यवस्था गरेको क्लस्टरअनुसार आठ जना सहमहामन्त्री निर्वाचनमार्फत पदाधिकारीमा चयन हुनेछन् ।

कांग्रेस विधानअनुसार सभापति बन्न कम्तीमा १५ वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएको र केन्द्रीय महाधिवेशन प्रतिनिधि भएको हुनुपर्छ । यस्तै, उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि १० वर्ष निरन्तर क्रियाशील सदस्य रहेको र महाधिवेशन प्रतिनिधि भएको हुनुपर्छ ।

कांग्रेस विधानमा भएको व्यवस्थाअनुसार अब बन्ने केन्द्रीय समितिमा सहमहामन्त्री आठ जना हुनेछन् । महिला महाधिवेशन प्रतिनिधिमध्येबाट एक, आदिवासी जनजाति महाधिवेशन प्रतिनिधिमध्येबाट एक, दलितबाट एक, मधेसीबाट एक, खसआर्यबाट एक, थारुबाट एक, मुस्लिमबाट एक र पिछडिएको क्षेत्रबाट एक जना गरी कांग्रेस केन्द्रीय समितिमा आठ जना सहमहामन्त्रीको व्यवस्था विधानमा छ ।

संविधानले तोकेका यी विभिन्न क्लस्टरअनुसार कांग्रेस सहमहामन्त्रीका लागि अहिलेसम्म ३३ जनाले आकांक्षा देखाएका छन् । सहमहामन्त्रीमा इच्छा राख्नेमा महिला कोटातर्फ कांग्रेसको संस्थापन समूहतर्फबाट चित्रलेखा यादव, पुष्पा भुषाल, ईश्वरी न्यौपाने, अम्बिका बस्नेत, महालक्ष्मी उपाध्याय डीना छन् । संस्थापन इतर समूहबाट सरिता प्रसाईं र कमला पन्तको इच्छा छ ।

यसैगरी, आदिवासी जनजातितर्फ एक पदका लागि संस्थापन समूहबाट सीता गुरुङ र भीष्मराज आङ्दम्बेले इच्छा देखाएका छन् भने इतर समूहबाट धनराज गुरुङ र विकास लामा अघि बढेका छन् ।

यस्तै, दलिततर्फ एक पदमा संस्थापन समूहबाट मीनबहादुर विश्वकर्मा र मानबहादुर विश्वकर्मा तथा इतरबाट जीवन परियार अघि सरेका छन् ।

यसैगरी, मधेसीतर्फबाट संस्थापनबाट जीतेन्द्र देव, अजय चौरासिया र महेन्द्र यादव तथा इतरबाट रञ्जित कर्ण र रामकृष्ण यादवको चर्चा छ । यसअघि चर्चामा रहेका अमरेशकुमार सिंह भने सर्लाहीबाट महाधिवेशन प्रतिनिधिमा नै पराजित भइसकेका छन् ।राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot