Logo

देउवाले प्रकाशमान र सुजातासँग के के कुरा गरे ?



काठमाडौं, २८ मंसिर । विहान पौने ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवा चाक्सीबारीस्थित प्रकाशमान सिंहको निवास पुगे । उनी पुग्दा सिंह समर्थकहरु ठूलो संख्यामा थिए ।

निर्वाचनमा तेस्रो स्थानमा पुगेपछि सिंह उत्साही देखिन्थे । उनका समर्थकहरु निराश थिएनन् । निर्णायक शक्ति भएकाले हर्षित थिए ।

देउवा चाक्सीबारी पुग्दा प्रकाशमान सिंह र सुजाता कोइराला छुट्टै कुराकानी गर्दै थिए । उनीहरु भावी रणनीति बनाउँदै थिए । अचानक देउवा पुगेपछि सिंहसँग केहीबेरा छुट्टै बसे । दुई नेताबीच राजनीतिक मुद्दा र राजनीतिक लेनदेनबीच कुराकानी भयो ।

देउवाले सिंहसँग काँग्रेसको नेतृत्व विकासबारे महत्वपूर्ण कुरा राखेको बुझिएको छ । त्यसपछि सिंह खुशी भए ।

सिंहले बाहिर बसेकी सुजाता कोइरालालाई डाके । तीन नेताबीच फेरि कुराकानी भयो । देउवाले दुवैलाई राजनीतिक प्रस्तावहरु राखे ।

देउवाले फेरि काँग्रेस काठमाडौं जिल्ला सभापति सबुज बाँनियालाई डाके । फेरि देउवासँग केही कुराकानी बढ्यो । सिंहले त्यसपछि काठमाडौं महानगरपालिका काँग्रेस सभापति निरत्न शाक्यलाई बोलाए । त्यसपछि देउवाले केही महत्वपूर्ण प्रस्तावहरु राखेका थिए ।

देउवाले प्रकाशमान र सुजाताले महाधिवेशनमा उठाएको मुद्दा पनि सुने । प्रकाशमानले विधि विधानको कुरा गरे । सुजाताले पदाधिकारीमा कम्तिमा महिला प्रतिनिधित्वको सुनिश्चितता देखि केन्द्रीय कमिटीमा पनि मनोनित गर्दा धेरै भन्दा धेरै महिलाको प्रतिनिधित्वको विषय उठाइन् । देउवाले त्यसलाई विधान महाधिवेशनमा राख्ने सुनाएको बुझिएको छ ।

देउवाले मौखिक रुपमा राजनीतिक प्रस्तावहरु राखेपछि सहमति भयो । देउवासँगै प्रकाशमान सिंह र सुजाता कोइराला निस्किए । उनीहरु माझ सिंहले देउवालाई साथ दिने घोषणा गरे । सुजाता पनि प्रफुल्लित देखिन्थिइन् । देशको राजनीतिमा दूरगामी असर पार्ने महत्वपूर्ण घटना चाक्सीबारीमा विहान घट्न पुग्यो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot