Logo

प्रकाशमान सिंहले किन देउवा रोजे ?



काठमाडौं, २९ मंसिर । नेपाली काँग्रेसको सभापतिको पहिलो चरणको प्रतिष्पर्धामा कसैले पनि आवश्यक बहुमत ल्याउन नसकेपछि दोस्रो चरणमा गयो । पहिलो हुने शेरबहादुर देउवा र दोस्रो हुने डा. शेखर कोइरालाबीच निर्णायक प्रतिष्पर्धा हुने भयो ।

तेस्रो हुने प्रकाशमान सिंह र चौंथो हुने विमलेन्द्र निधि दुवै निर्णायक बने । दुईमध्ये बढी मत ल्याउने प्रकाशमान सिंह चासोमा परे ।

सिंहले निकटस्थहरुसँग कसरी बढ्ने भन्नेबारे मङ्गलबार विहानै परामर्श गरे । सुरुमा उनी डा. शेखर कोइरालालाई समर्थन गर्ने पक्षमा थिए । लामो समय एउटै टिममा बसेका कोइरालाले सिंहसँग केही महत्वपूर्ण राजनीतिक छलफल पनि गरेका थिए ।

विश्वस्त स्रोतका अनुसार सिंह शेखर कोइरालासँग निकै असन्तुष्ट थिए । राजनीतिमा शेखरभन्दा दुई दशकभन्दा बढी प्रत्यक्ष काम गरेका थिए । पकड पनि कम थिएन । सुजाता कोइरालाले साथ दिइसक्दा र सशांक पनि सकारात्मक हुँदा शेखर आफै अगाडि सरे । उनमा शेखर कोइरालाले आफूलाई कुनै हालतमा स्वीकार्न नसकेको बुझाइ बन्न गयो ।

नयाँ समूह बनाइसकेको र पुरानो समूहको टिम आफ्नो बन्न नसक्ने देखे सिंहले । देउवा समूहका बालकृष्ण खाँड, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, डा. नारायण खड्का, उदय शमशेर राणालगायत नेताहरुले महाधिवेशन अघि देखि नै सिंहसँग सम्पर्क स्थापित गरिरहेका थिए । उनीहरुले आफ्नो समूहमा देउवापछिको नेताका रुपमा सिंहलाई मान्ने सन्देश दिइरहे ।

देउवा समूहमा रहेका नेताहरुसँग सिंहको पुरानो सम्बन्ध रहँदै आएको छ । काँग्रेस प्रजातान्त्रिकमा रहेका नेताहरुको बाहुल्य उक्त समूहमा छ । काँग्रेस प्रजातान्त्रिक हुँदा देउवा सभापति र सिंह उपसभापति थिए । पुरानो राजनीतिक सम्बन्ध र देउवा पक्षका नेताहरुले भविष्यमा सिंहलाई आफ्नो मुख्य नेता मान्ने वचन दिएपछि सकारात्मक बने ।

सिंह सकारात्मक बन्दै गएपछि देउवा कहाँ खाँडलगायत नेताले सन्देश पठाए । उनी मङ्गलबार विहान पौने ११ बजे चाक्सीबारी पुगे । त्यहाँ बसेर एक्ला एक्लै कुराकानी गरे ।

सुरुमा सिहसँग र त्यसपछि सुजाता कोइरालालाई राखेर देउवाले छलफल चलाए । भविष्यमा मिलेर जाने भद्र सहमतिहरु गरे । त्यसपछि सिंहले शेखर कोइरालालाई रोज्नुभन्दा देउवालाई रोज्नु उचित ठाने । उनी दोस्रो चरणमा देउवाको पक्षमा खुले । कतिपयले उनको कदमको आलोचना गरे । कतिपयले आश्चर्य माने । तर, सिंहले देउवालाई नै समर्थन गर्ने कठोर निर्णय गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot