Logo

आरजु देउवाको शक्ति ह्वात्तै बढ्यो, प्रथम महिला प्रधानमन्त्री बन्लिन् ?



काठमाडौं, ६ पौष । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसको राजनीतिमा तल्लो तहदेखि काम गरेर सभापति सम्म बने । उनी दुईपटक सभापति निर्वाचित भइसकेका छन् । देउवाको जीवनमा डा. आरजु राणा देउवा आएपछि भने उनले झन् राजनीतिक फड्को मारे ।

राणा परिवारकी आरजु विद्यावारिधी गरेकी छिन् । विदेशमा पढेकी र राजनीति बुझेकी उनले देउवालाई महत्वपूर्ण साथहरु दिइआएकी छिन् ।

आरजुले १४औं महाधिवेशनमा देउवालाई सभापति बनाउन महत्वपूर्ण भूमिका निभाइन् । उनी आफै पनि केन्द्रीय सदस्यमा निर्वाचित भएकी छिन् । आरजुले आफूनिकटस्थहरुलाई पदाधिकारी देखि केन्द्रीय सदस्यमा जिताउन सफल भइन् । अब काँग्रेसमा देउवाको मात्र नभई आरजुको पनि व्यक्तिगत पकड बढेको छ ।

कतिपयले आरजुलाई शेरबहादुर देउवाको उत्तराधिकारीका रुपमा बुझ्न थालेका छन् । आरजुले चुनाव जितेपछि महिला खुल्लातर्फको केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएकी डा. डिला संग्रौलाले अब काँग्रेसको नेतृत्वमा महिलालाई रोक्न नसक्ने अभिव्यक्ति दिइन् । यसलाई अर्थपूर्ण मानिएको छ ।

काँग्रेसको विधानमा सभापति दुईपटक भन्दा बढी रहन नपाउने व्यवस्था छ । देउवा स्वयंले आफू अन्तिमपटक सभापति बन्ने बताएका थिए । यसकारण पनि उनको उत्तराधिकारीको खोजी देउवा समूहभित्र भइरहेको छ ।

देउवाको उत्तराधिकारीका रुपमा आरजुलाई अगाडि बढाउन उक्त समूहका केही नेताहरु अहिले देखि नै लागेका छन् । चुनावी प्रतिष्पर्धामा प्यानलमा पनि आरजु निकटहरु नै परे र जिते ।

काँग्रेसको राजनीतिमा विरासतमा बढ्नेहरुलाई धक्का लागिरहँदा आरजुलाई चुनौती भने निकै छ । विगतमा सुजाता कोइराला काँग्रेसमा अगाडि बढ्न खोज्दा एकपछि अर्को धक्का खाएको इतिहास छ । यो चुनौतीलाई आरजुले कसरी पार गर्लिन् भन्ने चासो छ ।

अर्कोतर्फ, देउवा समूहमा उनको उत्तराधिकारी बन्न पूर्णबहादुर खड्का, बालकृष्ण खाँण, एनपी साउद जस्ता नेताहरु दौडमा छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई पनि देउवा समूहमा स्थापित गरेर उत्तराधिकारी बनाउन एउटा समूह लागेको छ । यी हस्ती र रणनीतिको सामना गर्दै आरजु कसरी बढ्लिन् भन्ने चासो बनेको छ । देउवाको राजनीतिक उत्तराधिकारी बन्न आरजु सफल भएमा भने उनी प्रधानमन्त्रीको दौडमा पुग्नेछिन् । यस्तो अवस्थामा देशले प्रथम महिला प्रधानमन्त्री पाउने सम्भावना बन्नेछ ।



प्रतिक्रिया दिनुहोस्