Logo

देउवासँगको भेटपछि ओलीले भने- ‘कुराकानी राम्रो भयो’



भक्तपुर, २४ पुस : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ता राम्रो भएको बताएका छन् । ओलीलाई भेट्न प्रधानमन्त्री देउवा बालकोटस्थित ओलीको निवासमै पुगेका थिए । देउवा–ओलीबीच एक घण्टासम्म वार्ता भएको जनाइएको छ ।ओलीले पनि सञ्चारकर्मीको जिज्ञासामा लामो जवाफ दिएनन् । वार्ता कस्तो भयो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले भने, ‘कुराकानी राम्रो भयो ।’

ओलीका प्रेस संयोजक रामशरण बजगाईंले दुई नेताहरुबीच एक घण्टासम्म वार्ता भएको, तर ‘वान टु वान’ वार्ता भएकाले आफूलाई थाहा नभएको स्पष्ट पारे ।प्रधानमन्त्री देउवा बालुवाटार फर्किदैछन् । उनको सचिवालयले पनि त्यसबारे बोलेको छैन ।

एमालेले प्रतिनिधिसभा बैठकमा गरेको निरन्तर अवरोध हटाउनेलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री देउवा एमाले अध्यक्ष ओलीलाई भेट्न आज बिहान करिब १० बजेर ३० मिनेटमा बालकोट पुगेका थिए । संसद्को अवरोध हटाउनेबारेमा छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक डाक्दासमेत एमाले उपस्थित नभएपछि प्रधानमन्त्री देउवा छलफलका लागि ओली निवास बालकोट पुगेका थिए ।

यसअघि पनि सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय संयन्त्रका संयोजक रामचन्द्र पौडेल बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग छलफल गरेका थिए । अध्यक्ष ओलीले एकीकृत समाजवादी पार्टीमा रहेका सांसदलाई सभामुखले कारबाही नगरेसम्म र एकीकृत समाजवादी पार्टीका सांसद उपस्थित भएको संसद् र बैठकमा अवरोध गर्ने अडान राख्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्