Logo

मन्त्री प्रेम आलेलाई बतासको जवाफ : यो राणा शाषन होइन



पुष २६, काठमाण्डौ । नारायणहिटी दरबार संग्राहलयभित्र बतास समूहले निर्माण गरेको संरचना अवैध भएको ठहर सहित संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गठन गरेको छानबिन समितिले प्रतिवेदन बुझाएको छ ।

तर बतास समुहका अध्यक्ष आनन्द राज बतासले उक्त प्रतिवेदनको खण्डन गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै बतासले सरकारी निकायको प्रक्रिया पूरा गरेर आफूले सम्झौता गरेको स्पष्ट पारेका छन् ।

सोमबार सिंहदरबारमा नारायणहिटी दरबार संग्राहलयभित्रको ठेक्का प्रक्रियाबारे छानबिन गर्न बनेको समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई प्रतिवेदन बुझाउदै संरचना अवैध भएको निष्कर्ष निकालिएको जानकरी दिएको थियो । तर बतासले आफ्नो तर्फबाट कुनै कमी कमजोरी नभएको जिकिर गरेका छन् ।

सरकारी समितिले एकतर्फी रुपमा प्रतिवेदन तयार पारेको भन्दै उनले आफूहरुसँगै कुनै पनि विषयमा नसोधिएको उनले बताए । बतास समुहलाई मन्त्री प्रेम आलेले गलत भन्दैमा त्यो अन्तिम सत्य नहुने उनको भनाई छ । राणा शाषनमा जस्तो जसले जे भन्यो त्यही सत्य नहुने उनको तर्क छ ।

आफ्नो बि म्यानेजमेन्ट कम्पनीले सम्झौता र नियम विपरित कुनै काम गरेको भए कारबाही भोग्न तयार रहेको पनि उनले बताए । “गल्ती भए प्रमाणित गरेर कारबाही गरोस् ।” उनले भने ।

समितिले बतास समुहले बनाइरहेको संरचना निर्माण रोकी सम्बन्धित निकायबाट कारबाही हुनुपर्ने सुझाव पनि दिएको छ ।

मन्त्रालयले नारायणहिटी दरबार संग्रहालयमा सञ्चालन गर्न दिइएको रोयल बगैंचा रेस्टुरेन्ट ठेक्काका छानविन गर्न सहसचिव होमप्रसाद लुइँटेलको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्