Logo

चुनाव खर्च बटुल्न डाँडापाखा ध्वस्त



काठमाडौं, २८ पौष । के तपाईं काठमाडौं उपत्यका वरिपरिको डाँडाकाँडा घुम्नुभएको छ ?  छ भने डाँडाहरु नाङ्गो पार्दै डोजर लगाउँदै गरेको देख्न सक्नुहुनेछ । उपत्यकाको तीनवटै जिल्लाको डाँडापाखाहरुमा डोजर लगाउन भू-माफिया सक्रिय भएका छन् ।

काठमाडौं, ललितपुर र भक्तपुरको काँठ भेगमा सरकारी जग्गा नै ध्वस्त पार्ने गरी दोहन भइरहेको छ । यस्ता दोहन रातभर समेत रोकिएको छैन । भूमाफियाले माथि देखि तलसम्म सेटिङ गर्दै सार्वजनिक बाटो र जग्गाहरु अतिक्रमण गरी जमिन खन्ने र भाँस्ने क्रियाकलाप गरिरहेका छन् ।

अधिकांश जनप्रतिनिधिहरु कार्यकालको अन्तिम वर्षमा भएकाले कमाऊ धन्दामा लागेका छन् । उनीहरुकै संरक्षण र प्रोत्साहनमा डाँडाहरुको दोहन चलिरहेको छ ।
भूमाफियाले चलनचल्तीको र सार्वजनिक बाटोहरु नै भाँस्ने र सार्ने गर्दै आएका छन् । कुला र खोल्सीहरु पनि पेल्न थालेका छन् । यसले भविष्यमा ठूलो प्राकृतिक प्रकोपहरु हुनसक्ने देखिन्छ ।

भूमाफिया सक्रिय हुँदा समेत स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय, प्रहरी, वनका कर्मचारी समेत आँखा चिम्लिएर बसेका छन् । उनीहरुसँग यसबारे सोध्दा उजूरी नपरेको भन्दै पन्छन्छन् ।

रिपोर्टर्स नेपालले पटक पटक डाँडापाखा ध्वस्त पारिएको खबर प्रकाशित गर्दै जिल्ला प्रशासन कार्यालयहरुसँग यसबारे सोध्दा उजूरी नपरेको बताउने गरेका छन् । तर, उजूरीको पत्रमा बेवास्ता गरेको देखिएको छ ।

प्रशासनले राजनीतिक दलका नेताहरुको निर्देशनमा मौनता जनाउने गरेको बुझिएको छ । चुनावलाई दृष्टिगत गरी रकमको जोहो गर्न भूमाफियासँग मिलेर राजनीतिक दलका नेता कार्यकर्ता नै सक्रिय छन् ।

यसैगरी, कतिपय स्थानीय निकायले कानुनविपरित जग्गाहरु लिजमा दिइरहेका छन् । यसरी लिजमा दिनेमा गोदावरी नगरपालिका पनि पर्दछ । उसले पौराणिक धार्मिक स्थल विशंखुनारायण क्षेत्रको जग्गा लिजमा दिएको छ । जबकि स्थानीय सरकारले जग्गा लिजमा दिन पाउँदैन ।

यसैगरी, गोदावरी नगरपालिकाभित्र सबैभन्दा बढी डाँडापाखा ध्वस्त पारिएका छन् । भक्तपुरका कतिपय नगरपालिकामा पनि डाँडाँपाखा ध्वस्त पारिने क्रम चलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot