Logo

शेखर समूहको निष्कर्षः सत्ता गठबन्धन घातक बन्दै



काठमाडौं, १० माघ । नेपाली काँग्रेसको डा. शेखर कोइराला समूहले सत्ता गठबन्धन घातक बन्दै गएको निष्कर्ष निकालेको छ । आज भर्चुअल माध्यमले बसेको उक्त समूहको बैठकले गठबन्धन घातक बन्दै गएको निष्कर्ष निकालेको हो ।

बैठकमा सहभागी एक नेताका अनुसार स्थानीय चुनाव सार्न खोजेर घातक परिणाम ल्याउन लागिएको निष्कर्ष निकालिएको छ । चुनाव संविधान अनुसार समयमै हुनुपर्ने ठहर समेत गरेको छ ।

गठबन्धन चुनावसम्म लान खोजिएको भन्दै बैठकमा सहभागी नेताहरुले घातक अवस्था आउने निष्कर्ष निकालेका छन् । काँग्रेसले कुनैपनि दलसँग तालमेल गर्न नहुनेमा समेत जोड दिइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको कदमहरुप्रति समेत नेताहरुले आपत्ती जनाएको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार देउवा प्रचण्डको रणनीतिमा चलेको भन्दै गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् । देउवाको पार्टीभित्रको पछिल्ला कदम एकलौटी भएको भन्दै आन्तरिक संघर्षमा जोड दिइएको बुझिएको छ ।

बैठकमा केन्द्रीय सदस्य डा. शेखर कोइराला, महामन्त्री गगन थापा, केन्द्रीय सदस्यहरु डा. रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसीका अलावा नेताहरु चन्द्र भण्डारी, डा. मीनेन्द्र रिजाललगायत नेताहरु सहभागी थिए ।-File Photo



प्रतिक्रिया दिनुहोस्