काठमाडौं, ११ माघ । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुन १० माघमा स्वदेश फर्किदा निकै उत्साही देखिन्थे । उनले आफू स्वस्थ भएको समेत बताए । पत्नी ओनसरी घर्तीसहित हिमालयन एयरलाइन्सको कार्गो विमानबाट फर्किएका उनले विमानस्थलमा केही महत्वपूर्ण अभिव्यक्ति दिए ।
पुन माओवादी महासचिव बन्नेमा ढुक्क भएको सन्देश दिए । उनले भरसक सहमति हुने विश्वास लिए नभए आफू प्रतिष्पर्धामा जाने संकेत गरे । म स्वभाविक रुपमा काम र अनुभवका हिसाबले महासचिवको दाबी गर्छु, पत्रकारको प्रश्नमा पुनले भने, चुनाव भए प्रतिष्पर्धा गर्न मैंले पनि पाउनुपर्छ । यसको अर्थ उनी महासचिवमा सहमति नभए चुनावमा जाने तयारीमा समेत छन् ।
वर्षमान पुनले उपचारका लागि चिनियाँ कम्युनिस्ट पार्टी र उसको विदेश विभागको नामै लिएर धन्यवाद दिए । पुन चीनमा रहँदा नेकपा माओवादी केन्द्रको महाधिवेशन चलिरहेको थियो । उनले त्यहाँ चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुसँग भेटघाट गरेका थिए ।
चीनसँग महत्वपूर्ण सम्बन्ध रहेको माओवादी केन्द्रमा पुनलाई चिनियाँ नेताहरुको चासो र प्राथमिकता रहनुलाई अर्थपूर्ण मानिएको छ ।
पुनलाई स्वागत गर्न माओवादीका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठ पनि विमानस्थल पुगे । अध्यक्ष प्रचण्ड पनि पुनप्रति सकारात्मक छन् । यसकारण उनले बाजी मार्ने सम्भावना देखिएको छ ।




प्रतिक्रिया