Logo

अब बस्ने संसद्को बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी, गृहमन्त्री खाँणको सक्रियता बढ्यो



काठमाडौं, २१ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले माघभित्रै अमेरिकी सहयोग सम्झौता एमसीसी पारित गर्नेगरि राजनीतिक कदम चालेका छन् । पछिल्लो समय उनले यसको लागि संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेताहरुसँग परामर्श र छलफल गरिरहेका छन् ।

एमसीसी अनुमोदनअघि संसद् सुचारु गर्नेगरि उनले एमालेको नेतृत्वसँग पनि छलफल थालेको छ । खासगरी प्रधानमन्त्री देउवाले सदनको अवरोध हटाउनको लागि सुरुदेखि नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरिरहेका छन् ।

पछिल्लो समय एमसीसीलाई लिएर कांग्रेस र एमालेबीच दुरी कम भैरहेको छ । एमालेले कांग्रेसले पहिले एमसीसीबारे आफ्नो पोजिशन क्लियर गरोस भनेर भनिरहेको छ । प्रधानमन्त्री देउवाले गत पुष २४ गते एमाले अध्यक्ष ओलीसँग उनकै निवास बालकोट पुगेर भेटेका थिए ।

उक्त भेटमा पनि देउवाले एमसीसी पारित गराउन सहयोग मागेका थिए । जवाफमा ओलीले पाँच दलीय गठबन्धन तोडेर आए सहयोग गर्ने वचन दिएको कुरा मिडियामा आएका थिए । ओली सरकारको नेतृत्वमा हुँदा एमसीसी पारित गराउने पक्षमा थिए ।

उनले संघीय संसद्को दुवै सदनमा सम्बोधन गर्दै तत्काल एमसीसी पारित गराउने भनेर भनेका थिए । उनले एमसीसी अघि बढाउनको लागि सभामुख बाधक बनेको भनेर पनि आलोचना गरेका थिए ।

प्रधानमन्त्री देउवा भने यही माघभित्रै एमसीसी सदनबाट अनुमोदन गराउनेगरि सक्रिय भएका छन् । यसको लागि उनले सबै पक्षसँग छलफल गर्नको लागि आफ्नो विश्वासपात्रसमेत रहेका गृहमन्त्री बालकृष्ण खाँणलाई खटाएका छन् ।

गृहमन्त्री खाँणले हिजोदेखि नै सक्रिय भूमिका निर्वाह गरिरहेका छन् । सुरुमा उनले सत्ता गठबन्धनकै शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन् । उनले प्रचण्ड र माधव नेपाल दुवैसँग छुट्टाछुट्टै भेटवार्ता गरिसकेका छन् ।

उता, एमालेको नेतृत्वसँग कुरा गर्न भने प्रधानमन्त्री देउवाले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई खटाएका छन् । अब बस्ने प्रतिनिधिसभाको बैठकमा नै एमसीसी प्रस्ताव टेबुल गर्ने सरकारको तयारी छ ।

यसमा एमालेले पनि ग्रिन सिग्नल दिएको चर्चा छ । एमसीसी अघि बढाउन सभामुख बाधक भए उनलाई महाभियोग लगाएर भएपनि हटाउने भित्री तयारी भैरहेको अर्को चर्चा छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot