Logo

जुम्लामा तेस्रोपटक हिमपात : किसानमा छायो खुसी



खलङ्गा, २१ माघ: जुम्लामा बिहीबार रातिदेखि भारी हिमपात भएपछि त्यहाँका किसानले उत्पादन गरेको हिउँदेबालीलाई निकै फाइदा हुने भएपछि जिल्लाका किसानमा खुसी छाएको छ । आफूहरूले लगाएको बाली सप्रिने भएपछि त्यहाँका किसानमा खुसी छाएको हो । जुम्लाको माथिल्लो भेगमा निकै बाक्लो हिमपात भएको गुठीचौर गाउँपालिका स्थानीयवासी दीपक बुढाले बताए । बुधबारदेखि मौसममा फेरबदल आएसँगै जिल्लामा हिमपात भएकोे हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ ।

हिमपात हुँदा अत्यधिक बढेको जाडोले यहाँको जनजीवन भने निकै कष्टकर बन्दै गएको चन्दननाथ नगरपालिका–४ का स्थानीयवासी कविता नेपालीले जानकारी दिए । उनले भने, “यो वर्ष तीन पटक हिउँ परेको छ । हिमपात भएपछि ट्यिुसन पढ्न आएका विद्यार्थीले निकै सास्ती पाएका छन् । हिउँले अझै जाडो बढाउने भएको छ ।” बालबालिका र वृद्धालाई निकै सास्ती भएको स्थानीयवासी नेपालीले बताए ।

जिल्लाको उच्च हिमाली भेगमा रहेको पातारासी र गुठीचौर गाउँपालिमकामा तीन फिटसम्म हिमपात भएको स्थानीयवासीले बताएका छन् । अहिले सदरमुकाम खलङ्गामा हिउँ परिरहेको छ । जुम्लाको तापक्रम माइनसमा गएको छ । हिउँ परेपछि जिल्लाबाट नेपालगञ्जसम्मको उडान गर्दै आएका हवाई सेवादेखि सुर्खेत नेपालगञ्ज र काठमाडौँ जाने सवारीसाधनसमेत ठप्प भएपछि यात्रुलाई सास्ती भएको छ । कर्णाली राजमार्गमा चल्ने छोटो दूरीमा सवारीसाधन फाट्टफुट्ट मात्र चलेको तिला कर्णाली यातायात समितिले जनाएको छ ।

हिउँदे बालीलाई राहत

हिमपातले हिउँदे बालीलाई पानीको मात्रामा मद्दत गर्ने भएपछि यहाँका किसानमा भने राहत भएको छ । हिउँदे बालीनालीलाई चाहिने पानीको मात्रा पुग्ने भएपछि यहाँका किसानलाई राहत हुने कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेषबहादुर अधिकारीले बताए । वर्षातले हिउँदे बालीलाई फाइदा पुग्ने कृषि विकास कार्यालयले जनाएको छ । नयाँ लगाएका स्याउका बिरुवालाई हिउँले पानीको राम्रो सहयोग गर्ने स्याउ सुपरजोन कार्यालय जुम्लाले जनाएको छ ।

प्रशासनले हिउँपात तथा चिसोबाट बच्न सार्वजनिक सूचनामार्फत न्यानो भएर बस्न आग्रह गरेको छ । जाडोका कारण जनजीवन कष्टकर हुने हुँदा झोलिलो खानेकुरा खान, अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी विजया प्रसाइँले बताए । प्रशासनले बालबालिका र वृद्धालाई न्यानो तथा शरीर ढाक्ने गरी लुगा लगाउन सार्वजानिक सूचनामार्फत अनुरोध गरेको छ । कुनै घटना घटे तल्काललै नजिकैको प्रहरी कार्यालय तथा सिधैँ जिल्ला प्रशासन कार्यालयमा र जिल्ला विपद् व्यवस्थापन समितिमा सम्पर्क गर्ने सूचनामार्फत जानकारी गराएको प्रशासनले जनाएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot