Logo

ओलीले दुई दिने प्रशिक्षण कार्यक्रमको भर्चुअल उद्घाटन गर्ने



काठमाडौं, माघ २६ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार दुई दिने प्रशिक्षण कार्यक्रमको भर्चुअल उद्घाटन गर्न लागेका छन्।

उद्घाटन सत्रमा पार्टी केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरू, प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका पदाधिकारी एवं प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरू सहभागी हुने भएका छन् ।

सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै एमालेले देशव्यापी रूपमा अभियान सञ्चालन गर्ने तयारीमा जुटेको छ । एमालेका महासचिव शंकर पोखरेलले मंगलबार सातवटै प्रदेश कमिटीहरूलाई आवश्यक तयारीमा लाग्न निर्देशन दिएका छन् ।

महासचिवको पत्रमा पार्टीको लगातारको दबाब, निर्वाचन आयोगको ताकेता, जनस्तरबाट व्यक्त खबरदारी समेतका कारण सरकारले आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी निर्णय गरेकाले उक्त निर्वाचनलाई पार्टीका पक्षमा पार्नका लागि मातहत कमिटी, नेता तथा कार्यकर्तालाई तयारी हालतमा राख्नका लागि कार्यक्रम आयोजना गर्न लागिएको उल्लेख छ ।

एमालेले सबल, गतिशील र अनुशासित पार्टी निर्माण, राजनीतिक संगठनात्मकलगायतका विषयहरूमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको बताएको छ । प्रशिक्षणमा स्थानीय तहमा पार्टीको पाँच वर्षे उपलब्धि र अनुभवहरू, निर्वाचनमा राजनीतिक, कानुनी र व्यवहारिक पक्षहरू समावेश गरिने भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot