जयराम लामिछानेद्धारा कांग्रेस मकवानपुर सभापतिमा उम्मेद्धवारी घोषणा


काठमाडौं, २८ माघ । नेपाली कांग्रेसका नेता जयराम लामिछानेले नेपाली कांग्रेसको मकवानपुर जिल्ला सभापतिमा उम्मेद्धवारी घोषणा गरेका छन् । कांग्रेसले १६ जिल्ला कार्यसमितिको निर्वाचन आउने फागुन १३ गते गर्ने निर्णय भएको छ ।

लामिछानेले मकवानपुरको जिल्ला कार्यसमितिको सभापतिमा उम्मेद्धवारी दिँदैछन् । उनले आफ्नो उम्मेद्धवारीको व्यापक प्रचारप्रसार गरिरहेका छन् । लामिछाने निर्माण व्यवसायी पनि हुन् । उनी नेपालमा विकासवादी नेताको रुपमा परिचित छन् ।

लामिछाने मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मत सहित निर्वाचित भएका थिए । गत मंसिर ६ गते भएको मतदानमा लामिछाने महाधिवेशन प्रतिनिधि प्रत्यक्ष खुलातर्फ सर्वाधिक ६७० मत प्राप्त गर्दै निर्वाचित भएका थिए ।

लामिछाने नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष पनि हुन् ।

कांग्रेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाम जिल्लामा कार्यसमितिको निर्वाचन गरिने जनाइएको छ । यसअघि ती जिल्लामा माघ १५ गते निर्वाचन मिति तोकिएको थियो । कोरोना संक्रमण बढेपछि समितिले उक्त निर्वाचन स्थगित गरेको थियो ।

पछिल्ला दिनमा कोरोना संक्रमण न्यून हुँदै गएपछि फागुन १३ गते निर्वाचन गर्ने मिति घोषणा गरिएको हो । निर्वाचन हुने १६ जिल्लामा प्रतिनिधि तथा क्षेत्रीय अधिवेशनबाट निर्वाचित हुने महासमिति सदस्यको निर्वाचन हुन बाँकी भएमा सोही दिन सम्बन्धित क्षेत्रको महाधिवेशन प्रतिनिधिमध्येबाट महासमिति सदस्यको समेत निर्वाचन सम्पन्न गरिने समितिद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

Skip This

Omoda E5 Pro