Logo

एमसीसीविरुद्ध प्रचण्डको सत्ता र सडक दुवैमा एकसाथ ‘संघर्ष’



काठमाडौं, ४ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनमै एमसीसीको विरोध गरेका थिए । उनले एमसीसी कुनै हालतमा समर्थन गर्न नसकिने भनिसकेका छन् । तैपनि, अमेरिकालाई पाँच महिना अघि पत्र लेखेकाले प्रधानमन्त्री शेरबहादुर देउवा समर्थन पाउनेमा ढुक्क थिए ।

प्रचण्डले अमेरिकालाई लेखेको पत्रलाई रणनीति भनिसकेका छन् । तैपनि, देउवाले प्रचण्ड वाध्य भएर एमसीसीको पक्षमा आउने विश्वास लिए ।

प्रचण्डले पार्टी बैठकबाट एमसीसीको विपक्षमा जाने निर्णय गराए । एमसीसीमा सरकार अगाडि बढे गठबन्धन छाड्नसक्ने सम्मको निर्णय गराए ।

पार्टीबाट निर्णय गराइरहँदा माओवादी कार्यकर्ता एमसीसीविरुद्ध सडकमा ओर्लिइसकेका थिए । यसरी उनले सत्ता र सडकमा एकसाथ एमसीसीविरुद्ध संघर्ष छेडेका छन् ।

देउवालाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगका लागि मनाउन समेत प्रचण्ड सफल भए । १ फागुनमा जनयुद्ध दिवसकै दिन पारेर महाभियोग दर्ता भयो ।

जबरा निलम्बनमा परेपछि स्थानीय निर्वाचन रोक्न परेको रिटमा यसअघि दरपीठ गरिएकोमा आज दर्ता गर्न सर्वोच्चले आदेश दिएको छ । प्रचण्ड स्थानीय चुनाव वैशाख या जेठमा चाहँदैनथिए । उनले सार्वजनिक रुपमै वैशाखमा पहिले प्रतिनिधि सभा चुनाव गर्ने प्रस्ताव गरेका थिए । प्रचण्डसँग हातेमालो गर्दै आएका नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले फागुन २०७९ मा तीन चरणको चुनाव एकैपटक गर्ने प्रस्ताव गरेका थिए । यसबाट चुनाव रोक्न प्रचण्डको रणनीति रहेको बुझ्न थालिएको छ ।

प्रचण्डले पार्टी बैठकमा पनि असोजमा कार्यकाल सकिने स्थानीय निकायका जनप्रतिनिधिहरुले मुद्दा दायर गर्ने र चुनाव सर्न सक्ने बताएका थिए । यसरी प्रचण्डले एकसाथ शक्ति लगाएर आफ्नो रणनीतिलाई बढाएका छन् । यसबाट उनले शक्ति आर्जन गर्दै आफ्नो प्रभाव सत्ताको महत्वपूर्ण निकायमा बनाउन खोजिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्