Logo

ओलीलाई प्रधानमन्त्री बन्ने मौका



काठमाडौं, ४ फागुन । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी एमसीसी यथास्थितिमा पारित गर्न तयार नहुने पक्षमा उभिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा अप्ठ्यारोमा परेका छन् । उनी अब एमसीसीबाट पछि हट्ने या सत्ता गठबन्धन तोड्ने मध्येको निर्णयमा पुग्न वाध्य भइसकेका छन् ।

सम्भवतः ५ फागुन भोलि देउवाले कठोर निर्णय लिनुपर्ने हुन्छ । उनले लिने निर्णयमा गठबन्धन तोडेर नेकपा एमालेसँग गठबन्धन गर्ने नै हुने देखिइसकेको छ । देउवालाई काँग्रेसभित्रै गठबन्धन तोड्ने दबाब बढिसकेको छ । तर, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहमति विना देउवाका लागि गठबन्धन तोड्नु अर्को जोखिम भइसकेको छ ।

गठबन्धन तोडेपछि देउवा अल्पमतमा पर्नेछन् । उनले फेरि विश्वासको मत लिनुपर्ने विषय उठ्नसक्छ । अर्कोतर्फ, एमसीसी १६ फागुनभित्र पारित गर्ने अडान लिएका देउवाका लागि धेरै समय छैन । अबको १२ दिनमा एमसीसी पारित गर्न नसके देउवा यस विषयमा असफल सावित हुनेछन् ।

देउवाले एमसीसीका लागि ओलीसँग सहमति गर्दा कतिपय शर्तहरु पूरा गर्नुपर्ने हुनसक्छ । विश्वस्त स्रोतका अनुसार ओलीका विश्वासपात्रहरुले देउवालाई विभिन्न सर्तहरु राख्न थालिसकेका छन् । जसमध्ये देउवा परमादेशबाट बनेको प्रधानमन्त्री रहिरहन नहुने विषय पनि छ । उनी या त फेरि एमालेको समर्थनमा प्रधानमन्त्री पुनः बन्नुपर्ने अवस्था आउँछ या त सत्ता छाड्ने अवस्था पनि बन्न सक्छ ।

एमसीसी पारित गर्न ओलीले बार्गेनिङ गर्न थालिसकेका छन् । जसमा सभामुख अग्निप्रसाद सापकोटालाई हटाउने प्रस्ताव लाने विषय छ । विश्वस्त स्रोतका अनुसार ओलीनिकटस्थहरु उनलाई प्रधानमन्त्री बन्ने गरी बार्गेनिङ बढाउने तयारीमा छन् । एमसीसी पारित गर्ने सर्तमा ओली फेरि प्रधानमन्त्री बन्ने गरी सर्तहरु अगाडि बढाउने तयारीहरु भएको छ ।

नेपाली काँग्रेसभित्र गठबन्धन तोड्ने दबाब सँगै एमसीसीलाई प्रतिष्ठाको विषय बनाइएको छ । यसलाई पारित गर्न देउवाले त्याग गर्नुपर्ने अवस्था पनि आउने बुझिएको छ । काँग्रेसका एक प्रभावशाली नेताका अनुसार ओलीलाई प्रधानमन्त्री बनाएर भएपनि एमसीसी पारित गर्ने अवस्था आउनसक्छ । उनले भने, ‘बरु देउवा प्रधानमन्त्री छाड्न तयार हुनुहुन्छ तर एमसीसीबाट पछि हट्नुहुनेछैन । पारित गरेरै छाड्नुहुनेछ ।’ विकल्पमा ओली फेरि प्रधानमन्त्री बन्ने सम्भावना पनि बढेर गएको छ ।

एमसीसी असफल बनाउन सक्ने निर्णायक शक्ति पनि ओली नै देखिएका छन् । प्रचण्डले ओलीसँग पुनः मिलन हुनसक्ने बताइसकेका छन् । एमसीसी असफल बनाउने प्रचण्डको प्रयासमा सहयोगी बनेमा देउवालाई झड्का लाग्नसक्छ । उनलाई प्रधानमन्त्रीको कुर्सीबाट हट्नुपर्ने अवस्था बन्न सक्छ । त्यतिबेला ओलीलाई एमसीसी असफल बनाउन लागेकाले प्रचण्डले प्रधानमन्त्री बन्न साथ दिन सक्छन् । तर, त्यो सम्भावना कमजोर छ । यद्यपि, राजनीतिमा सम्भावनाको खेल हुन्छ । ओलीलाई एमसीसीमा निर्णायक शक्ति बन्दा फेरि सत्तामा उक्लने मौका आइरहेको देखिदैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot