Logo

प्रचण्ड–माधव लक्षित सूर्य थापाको टिप्पणी : सरकार र सडकमा नैतिकहरामहरूको के चाला हो त ?



काठमाडौं, ५ फागुन । नेकपा (एमाले) का प्रभावशाली नेता सूर्य थापाले प्रचण्ड र माधव नेपालहरु सरकारमा पनि बसेको र सडकमा पनि उनीहरुका नेता तथा कार्यकर्ताहरुले एमसीसीको विरोधमा प्रदर्शन गरेको विषयमा आपत्ति जनाएका छन् ।

उनले एमसीसीको साँच्चै विरोधी हो भने प्रचण्ड र माधव नेपालहरु सरकारबाट बाहिरिएको घोषणा गर्नुपर्ने पनि उल्लेख गरेका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत उनले सरकारमा माउ र सडकमा चल्लाहरुको मिलिभगत भएको र यसलाई उनले तमासाको संज्ञासमेत दिएका छन् ।

उनले लेखेका छन्-

एकातिर पाँचदलीय गठबन्धनवाला नाैटंकीवाजहरू सरकारमा बसेर प्रहरी दमन आफैले गराउने, शान्तिपूर्ण प्रदर्शनमा पानीको फाेहरा हानेर लखेट्ने र भिड नियन्त्रणकाे क्रममा लखेटालखेट गर्ने तमासा गरिरहेका छन्। अचम्म त के छ भने लखेटिने भिंडमा तिनकै नेता, कार्यकर्ता र समर्थकहरू रहेका छन्, नारायणकाजी श्रेष्ठ, सुमन देवकाेटा, सुदेश पराजुली ….आदि? यदि एमसीसीकाे साँच्चै विराेध हाे भने माउहरूले सरकारबाट बाहिरिएको घाेषणा गर्नुपर्दैन?आफै धामीझाँक्री र आफै बाेक्सी भनेजस्तो सरकार र सडकमा नैतिकहरामहरूकाे के चाला हाे त ? एक दिन बाँचे नाैलाख तारा देख्नपाइन्छ भन्ने बाबुबाजेहरू, हाे रहेछ!

सरकारमा माउ र सडकमा चल्लाहरूकाे मिलिभगत/ऐक्यबद्धता। याे तमासा नै नभएर के हाे? काेही छैन प्रचण्ड, माधव कु. र दुर्गा पाैडेलहरूका यस्ता सरकारी/सडक उत्पातबारे भन्ने? प्रधानमन्त्रीसँग दम छैन, यिनलाई एक ठाउँ सरकार वा सडकमा कहाँ हाे, त्यहाँ पठाउने? यस्ताे रामरमिता र जात्रा त दुनियाँमा कहाँ गर्न पाइन्छ ?
द्वैधचरित्र र ठगी । काग बाठाे पल्टिँदाकाे हविगत-लज्जाशरणम् !



प्रतिक्रिया दिनुहोस्