Logo

देउवा-ओली भेटवार्तामा के के भयो ?



काठमाडौं, ५ फागुन । सत्ता गठबन्धनको बैठकमा एमसीसीमा सहमति नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवा आक्रोशित भए । उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल एमसीसीमा सहमत हुने छाँटकाँट नदेखिएपछि विकल्पमा जाने निर्णयमा पुगे ।

देउवाले तत्काल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटार आउने जानकारी गराए । ओली उत्साही भए । देउवा पत्नी आरजु देउवासहित ओलीनिवास बालकोट पुगे ।

भेटवार्तामा देउवाले ओलीसँग एमसीसी पारित गर्ने एजेन्डामा छलफल गरे । राजनीतिक लेनदेनको कुरा पनि गरे । ओलीले पनि केही शर्त राखे । दुई नेताबीच केही सहमतिको वातावरण बन्यो । तर, पूर्ण सहमति बनेने ।

देउवा बिदावारी भएर बालुवाटारतर्फ लाग्दै थिए । ओलीबाट फेरि फोन आयो । देउवा फेरि बालकोट फर्किए । ओलीले एमालेका केही प्रभावशाली नेताहरुलाई बालकोट डाके । उनका विश्वासपात्रहरु बालकोट पुगे ।

ओलीले आफू निकटस्थ नेताहरुसँग देउवाको प्रस्तावबारे छलफल गरे । उनीहरुको राय लिए । त्यसपछि देउवासँग छलफल गरे ।

साँझ १० बजे पछि देउवा बालुवाटार फर्किए । आजको बैठकमा केही महत्वपूर्ण कुराकानी भएको र ओलीसँग देउवाको कुरा मिल्ने सम्भावना बढेको बुझिएको छ । जसमा ओलीका केही शर्त देउवाले मान्नुपर्ने रहेको विश्वस्त स्रोतले बताएको छ । देउवा पनि एमसीसी पारित गर्ने सर्तमा ओलीका केही सर्त मान्न सकारात्मक भएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot