Logo

गठबन्धनबाट बाहिरिए पनि सरकारलाई दिएकाे समर्थन फिर्ता लिएकाे छैन: चित्रबहादुर केसी



काठमाडौं, २० फागुन । राष्ट्रिय जनमाेर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धनबाट बाहिरिए पनि सरकारलाई दिएकाे समर्थन फिर्ता नलिएकाे बताएका छन् ।

नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता केसीले भने, “हामीले प्रतिगमन विरुद्ध लड्नका लागि गठबन्धन बनायाैं, त्यसमा सफलता पनि पायाैं तर राजमाे नचाहिने काम गर्दा पनि गठबन्धनमा झुन्डिएर बस्दैन । अमेरिकाले गठबन्धनका नेताहरूलाई घाेक्राेमा हात लगाएर एमसीसी पास गराइछाड्याे । गठबन्धनबाट बाहिरिए पनि सरकारलाई दिएकाे समर्थन फिर्ता लिएकाे छैन ।”

नेता केसीले गण्डकी प्रदेशलाई दिएकाे समर्थन पनि फिर्ता नलिएकाे बताए । उनले थपे, “हामीले सरकारलाई लुकेर समर्थन दिएकाे हाेइन । अहिले हाम्राे पार्टीकाे बैठक भएकाे छैन । बैठक नगरीकन फिर्ता घाेषणा गर्न मिल्दैन ।” प्रचण्ड र माधव नेपालकाे लाज छाेप्न व्याख्यात्मक घाेषणा गरिए पनि त्यसकाे औचित्य नभएकाे उनले बताए ।

केसीले भने, “एमसीसीमा सत्तापक्षकाे पाइन पनि देखियाे ।प्रतिपक्षकाे पाइन पनि देखियाे । अमेरिका बाँप बैरी साँध्ने षड्यन्त्र गरेर एमसीसीकाे अवतारमा आएकाे हाे । १२ बुँदे घाेषणाकाे आैचित्य छैन ।” केसीले चीनकाे इसारामा राजमाेले एमसीसीकाे विराेधमा उत्रिएकाे भन्नु झुटकाे खेती भएकाे आराेप लगाए । बरु अरू दलले नाफा नाेक्सानकाे हिसाबकिताब गरेर बाेलेकाे उनकाे कथन छ । उनले भने, “एमसीसीकाे विराेधमा राजमाे एक्लै छैन । लाखाैं नेपाली यसकाे विराेधमा छन् ।”



प्रतिक्रिया दिनुहोस्