Logo

धीरज सिंहलाई आइजीपी बन्नबाट रोक्न नयाँ अस्त्रः एआइजी बढुवा सिफारिशविरुद्ध उजूरी



काठमाडौं, ६ चैत्र । नेपाल प्रहरीमा तीनजना डिआइजीलाई एआइजी बढुवाको सिफारिश गर्ने निर्णयविरुद्ध उजूरी परेको छ । डिआइजी इश्वरबाबु कार्कीले लोकसेवा आयोगमा बढुवाविरुद्ध उजूरी गरेका हुन् ।

कार्कीले बढुवाविरुद्ध सर्वोच्च अदालतमा समेत रिट दायर गर्ने तयारी गरेका छन् । सर्वोच्चबाट अन्तरिम आदेश जारी गराएर मन्त्रिपरिषदबाट निर्णय रोक्ने प्रयास समेत भएको छ ।

सरकारले यसअघि तीन एआइजीको दरबन्दी सृजना गरेर गृह मन्त्रालयमार्फत् बढुवा सिफारिश गरेको थियो । १ चैत्रमा बढुवा सिफारिश हुनेहरुमा आइजीपी शैलेश थापा क्षेत्रीका ब्याची वसन्त पन्तका अलावा डिआइजीहरु धीरजप्रताप सिंह र रवीन्द्र धानुक छन् ।

बढुवामा आफूभन्दा पछिल्लो ब्याचका सिंह र धानुकको नाम सिफारिश गरिएको भन्दै हालका आइजीपी थापाका ब्याची असन्तुष्ट थिए ।

अहिले बढुवा सिफारिश भएका धीरज सिंहलाई आइजीपी बनाउने गरी बढुवा गर्न लागिएको चर्चा छ । उनीप्रति प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक रहेको बुझिएको छ । आइजीपीका मुख्य दाबेदार मानिएका एआइजीद्वय विश्वराज पोखरेल र सहकुल थापामाथि सिंहको बढुवा सिफारिश सँगै चुनौती बढेको छ ।

१९ वैशाखमा हालका आइजीपी शैलेश थापा क्षेत्री सेवानिवृत्त हुँदैछन् । त्यसपछि एआइजीमध्येबाट बढुवाको प्रतिष्पर्धा हुनेछ । सीआइबीको प्रमुख रहेर देउवाको मन जितेका सिंहलाई रोक्न प्रहरीभित्रै प्रयास चल्न थालेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot