Logo

चिनियाँ विदेशमन्त्रीसहितको टोली आज नेपाल आउँदै



काठमाडौं, चैत ११ । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी तीनदिने भ्रमणका लागि आज  अपरान्ह नेपाल आउँदैछन्। परराष्ट्र मन्त्रालयका अनुसार वाङको नेतृत्वमा उच्चस्तरीय चिनियाँ टोली आज भ्रमणमा आईपुग्न लागेको हो । चिनियाँ विदेशमन्त्रीको भ्रमणका लागि सरकारले सुरक्षा व्यवस्था कडा पार्नुका साथै आवश्यक तयारीसमेत गरिसकेको छ ।

शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि आउन लागेका वाङ पहिलो उच्चस्तरीय पाहुना हुन् । यसअघि चीनका रक्षामन्त्री वेई फंगेल १४ मंसिर २०७७ मा नेपाल भ्रमण गरेयता वाङ उच्चस्तरीय पाहुना हुन् । तीनदिने भ्रमणमा आउन लागेको विदेशमन्त्रीको टोलीमा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ थाओसहित सात जनाको टोली आउने आउन लागेको हो । उक्त टोली पाकिस्तान, भारत हुँदै नेपाल आउन लागेको हो ।

नेपाल भ्रमणका क्रममा सीमापार रेललगायतका समझदारीपत्रमा हस्ताक्षरको तयारी भइरहेको स्रोतले जनाको छ। एक वर्षअघि चिनियाँ रक्षामन्त्री वेई तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको संघारमा आइपुगेका थिए भने एमसिसी पारित भएको अवस्थामा वाङ आइपुग्दै छन् ।

नेपालमा अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) संसद्बाट पारित भएपछि चिनियाँ विदेशमन्त्री वाङ नेपाल भ्रमणमा आउने तयारीमा लाग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । नेपाल भ्रमणमा आउन लागेका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङले नेपाली समकक्षी डा नारायण खड्कासँग द्विपक्षीय औपचारिक वार्ता गर्नेछन् भने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट हुनेछ ।

वाङसँग एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले भेटवार्ता गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्