Logo

कांग्रेस बैठकः अधिकांश शीर्ष नेता तालमेलको पक्षमा, शेखर समूह विपक्षमा



काठमाडौं, चैत १४। नेपाली कांग्रेसका अधिकांश शीर्ष नेता आगामी स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनमा आबद्ध दलबीच चुनावी तालमेलको पक्षमा उभिएका छन् ।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी तालमेलका पक्षमा प्रस्ट छन् । उनले गठबन्धन आबद्ध दलबीच आवश्यकताको सिद्धान्तका आधारमा तालमेल हुने बताउँदै आइरहेका छन् । यो विषयमा शीर्ष नेताले जारी केन्द्रीय समिति बैठकमा मुख खोल्दै गएका छन् ।

सभापति देउवासँगै नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा। शशांक कोइराला, कृष्णप्रसाद सिटौला र नेतृ सुजाता कोइराला पनि सत्ता गठबन्धन आबद्ध दलबीच चुनावी तालमेलको पक्षमा उभिएका छन् ।

तर, कांग्रेसको गत मंसिरमा सम्पन्न १४औं महाधिवेशनबाट संस्थापन इतर पक्षको नेतृत्व सम्हाल्दै आएका नेता डा शेखर कोइराला भने कांग्रेस कसैसँग तालमेल नगरी एक्लै निर्वाचनमा अघि बढ्नुपर्नेतर्फ जोड दिँदै आइरहेका छन् । उनले कांग्रेसले अरूको साथ खोजेर अघि बढ्ने हो भने भारतीय कांग्रेस पार्टी कांग्रेस आईको जस्तो अवस्थामा खुम्चिन पुग्ने चेतावनीसमेत दिँदै आएका छन् ।

यसैगरी १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनेर मैदानमा होमिएका नेता विमलेन्द्र निधिसमेत तालमेलको विपक्षमा छन् । उनले कांग्रेसले कसैसँग तालमेल नगरी एक्लै निर्वाचनमा अघि बढ्नुपर्ने धारणा राखेका छन् ।

सभापति शेरबहादुर देउवासँगै नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा शशांक कोइराला, कृष्णप्रसाद सिटौला र नेतृ सुजाता कोइराला सत्ता गठबन्धनमा आबद्ध दलबीच चुनावी तालमेलको पक्षमा उभिँदा शेखर कोइराला पक्षले भने कसैसँग तालमेल नगरी एक्लै निर्वाचनमा अघि बढ्नुपर्ने धारणा राख्दै आएको छ । विमलेन्द्र निधि पनि तालमेलको विपक्षमा उभिएका छन् ।

स्थानीय तह निर्वाचनको तयारी, दलबीच तालमेल, संसदीय समिति गठनलगायतका विषयमा कांग्रेसले गत शुक्रबारबाट केन्द्रीय समिति बैठकमा छलफल गर्दै आइरहेको छ ।

बैठकमार्फत नै कांग्रेसले आगामी निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लामा पार्टीका तर्फबाट खटिएका केन्द्रीय प्रतिनिधिसँग पनि राय लिइरहेको छ ।

यसैगरी, कांग्रेसले सातै प्रदेशका पार्टीका प्रदेश सभापतिसँग समेत स्थानीय तहको निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा राय लिएको छ ।

नेपाली कांग्रेसले स्थानीय तहको सबैभन्दा ठूलो संरचना महानगरपालिकामा केन्द्रबाटै चुनावी तालमेल निर्णय गर्ने तयारी गरेको छ । कांग्रेस केन्द्रीय समितिलाई विधानले समेत त्यो अधिकार दिएको छ ।

यसैगरी, उपमहानगरपालिका, नगरपालिका तहमा पनि केन्द्रीय नेतृत्वसँगको रायबाट उम्मेदवार तय गर्ने विषयमा कांग्रेस अघि बढेको छ भने गाउँपालिका तहमा स्थानीय राजनीतिक नेतृत्वसँगको सहमतिका आधारमा तालमेल निर्णय गर्ने कांग्रेसको तयारी रहेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot