काठमाडौं, १६ चैत । नेपाली कांग्रेसका नेता बलबहादुर केसीले गठबन्धन आवश्यकता र बाध्यता दुवै भएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता केसीले भने, “हाम्रो मिसन नेकपा एमालेलाई रोक्ने हो । अझै पनि कम्युनिस्ट एकता टरेको छैन । नेपालका कम्युनिस्टहरुलाई चलाउने आन्तरिक र बाह्य चलखेल भइरहेकै छ । त्यसैले कांग्रेसले गठबन्धनका घटकहरुसँग निर्वाचनमा तालमेल गरेर जाने सर्वसम्मतिले निर्णय गरेको हो । यसमा आवश्यकता र बाध्यता दुवै जोडिएको छ ।”
कांग्रेस कमजोर भएर गठबन्धन गरेको भन्नु आरोप मात्रै भएको पनि उनले बताए । केसीले थपे, “केपी ओली बिना बारुदको बन्दुक पड्काइरहनुभएको छ । कांग्रेसले आफू कमजोर भएकाले तालमेल गर्न खोजेको होइन । अहिले पनि प्रतिगामी चलखेल हेर्दा अहिलेको प्रणाली बचाउन सक्ने हो कि होइन भन्ने अवस्था छ ।”
तालमेलको मोडालिटी आएपछि मात्रै कुन पालिका कसले पाउने भन्ने निक्र्यौल हुने पनि उनले औंल्याए । उनले भने, “तालमेलको मोडालिटी तय गर्न बाँकी छ । कुन महानगरपालिका लिने, नलिने छलफल गर्ने बेला भएको छैन । केही दिनभित्रै मोडालिटी आएपछि सबै कुरा थाहा हुन्छ ।”




प्रतिक्रिया