Logo

विराटनगरको मेयरमा मेरो दाबी छः डा. डिला संग्रौला



काठमाडौं, १० वैशाख । नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले विराटनगर महानगरपालिकाको मेयरमा आफ्नो दाबी रहेको बताएकी छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ संग्रौलाले भनिन्, “विराटनगर भनेको विचारको राजधानी, लोकतन्त्रको जननी ठाउँ हो । यो पुरातात्विक सहर पनि हो । मैले देशभरिको अनुभव बटुलेकी छु, विकासको मोडलको अध्ययन गरेकी छु । त्यसको आधारमा सहरको अनुहार फेर्न सक्ने अठोट लिएकी छु ।”
आफ्नो दाबी रहे पनि पार्टीले जसलाई उम्मेदवार बनाए पनि जिताउन लाग्ने उनलाई बताइन् । संग्रौलाले भनिन्, “तर यसमा मेरो रुचि भएर मात्र हुँदैन, पार्टीले जिम्मेवारी दिनुपर्यो । पार्टीले जसलाई उम्मेदवार बनाउँछ, उसलाई जिताउन लाग्ने हो ।”
उनले पार्टीले उम्मेदवार तोक्न विलम्ब गरेको स्वीकारिन् । उनले थपिन्, “निश्चय पनि ढिलाइ भएको म स्वीकार्छु । २०७४ मा यस्तै ढिलाइ भयो । पार्टी विधानमा एक महिना अघि नै उम्मेदवार तोक्ने व्यवस्था छ । तर यसपटक गठबन्धनका कारण ढिलाई भएको हो । पार्टीले आज निर्णय गर्छ ।”
गठबन्धनका कारण पार्टीभित्र सिर्जित असन्तुष्टि पार्टी नेतृत्वले समाधान गर्ने विश्वास पनि उनले व्यक्त गरिन् । उनले भनिन्, “गठबन्धन र तालमेल आजको आवश्यकता हो । यो संविधानको रक्षा र लोकतन्त्रको स्थायित्वका लागि हो । पार्टीभित्र हाम्रा धेरै साथीहरुको एक्लै लड्नुपर्छ भन्ने ठूलो स्वर आएको थियो । तालमेलको खाका आइसकेकाले अब सम्झाउने र बुझाउने क्रममा छौं ।”
भरतपुरमा देखिएको असन्तुष्टि अस्वाभाविक नभएको पनि उनले औंल्याइन् । उनले भने, “गठबन्धनमा भएको तालमेलले चितवनमा साथीहरुको असन्तुष्टि देखिएको छ । उहाँले गत निर्वाचनमा पीडा भोगिसक्नुभयो । अहिले पनि दोहोरिएकाले समस्या देखिएको छ । यसबारे अवश्य पनि नेतृत्वको ध्यानाकर्षण हुन्छ ।”
गठबन्धनका कारण महिला प्रतिनिधित्व त घट्ने भयो नि भन्ने पत्रकार धमलाको प्रश्नमा कांग्रेस नेतृ संग्रौलाले भनिन्, “संविधान र स्थानीय तह निर्वाचन ऐनले समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेको छ । गठबन्धनले पनि त्यसलाई आत्मसात् गरेर एउटा पदमा महिलालाई प्राथमिकता दिनुपर्छ । निर्वाचन आयोगले गठबन्ध्न्को हकमा प्रमुख र उपप्रमुखमध्ये एक पदमा महिला अनिवार्य हुने व्यवस्था सच्चाएकोमा मेरो आपत्ति छ । संविधानको मूल मर्ममाथि प्रहार गर्न पाइँदैन ।”

 



प्रतिक्रिया दिनुहोस्