Logo

पैसावाललाई उम्मेदवार बनाउन महालक्ष्मीमा नेकपा एसकी उपमेयर निर्मलालाई पाखा



काठमाडौं, १० वैशाख । नेकपा एकीकृत समाजवादी बन्दा ललितपुरको महालक्ष्मी नगरपालिकाकी उपमेयर निर्मला थापा एमाले छाडेर माधव नेपालको पक्षमा लागिन् । विगतमा माधव नेपालसँग नजिक मानिएका मेयर रामेश्वर श्रेष्ठ नेकपा एमालेमै रहे ।

नेकपा एसले टिकट दिंदा देशभर बहालवाला मेयर भए मेयरलाई र उपमेयर भए उपमेयरलाई नै मेयरको उम्मेदवार बनाउने मापदण्ड बनायो । माधव नेपालले पार्टी बैठकमा यही भने । त्यस अनुसार देशभर उमपेयर बनेका महिलाहरु नेकपा एसबाट मेयरको उम्मेदवार बन्न थाले । हेटौंडामा आजै उपमेयर मीना कुमारी लामालाई एसले मेयरमा उम्मेदवार बनायो ।

ललितपुरको महालक्ष्मी नगरपालिकामा गठबन्धनबाट नेकपा एसको उम्मेदवार बन्ने निश्चित जस्तै भयो । तर, उपमेयर निर्मला थापालाई पाखा लगाइएको छ । उनलाई प्रदेशमा व्यवस्थापन गर्ने भन्दै बहालवाला वडाध्यक्षहरु मध्येबाट उम्मेदवार बनाउन खोजिएको छ । उनीहरुकै नाम सिफारिश गरेर लगिएको छ ।

निर्मला पाँच वर्ष उपमेयर बनेर यस क्षेत्रमा भिजेकी उम्मेदवार हुन् । विगतमा शिक्षिका रहेकी उनले विकास निर्माणमा पनि महत्वपूर्ण भूमिका खेलिन् । काँग्रेसको पकड रहेको क्षेत्रमा समेत उनले बाटोहरु निर्माणमा भूमिका खेलेकी छिन् । महिलाहरु माझ उत्तिकै लोकप्रीय छिन् । तर, उनलाई रोक्न यस क्षेत्रका प्रभावशाली नेताहरु लागेको बुझिएको छ ।

विश्वस्त स्रोतका अनुसार नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भ्रम पार्ने गरी गलत सूचना कोटेश्वरमा पुर्याइएको छ । दुई वडाध्यक्षहरु नन्द केसी र नहकुल थापाले पक्का जित्छन् भनेर सूचना पुर्याइएको छ । केसी विगतमा केही वर्ष शिक्षक रहे । दुईवटा स्थानीय तहमा वडाध्यक्ष रहे । नहकुल थापा ठेक्कापट्टा व्यवसायी हुन् । उनी बहालवाला वडाध्यक्ष हुन् । एमालेबाट जितेर एसमा लागेका दुवै वडाध्यक्षहरु सबैभन्दा कम मतदाता भएको वडामध्येका हुन् । उनीहरु मतदातामाझ लोकप्रीय पनि छैनन् ।

एमालेबाट रामेश्वर श्रेष्ठ या हरिगोविन्द श्रेष्ठ मेयरको उम्मेदवार बन्ने निश्चितप्रायः छ । उपमेयर निर्मला थापा रिङबाट आउट भएको भन्दै उनीहरुले जीतको खुशियाली मनाइसकेको बुझिएको छ । नेवार समुदायको पकड क्षेत्रबाट भारी मत ल्याउने, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका मतदाताले समेत कलममा मत नहाल्ने अवस्था बनेको उनीहरुको निष्कर्ष बनिसकेको बुझिएको छ ।

नगरभित्र धेरै परिचित र लोकप्रीय उम्मेदवारलाई बेवास्ता गरेको भन्दै नेकपा एसका ललितपुरका प्रभावशाली नेताहरुको समेत आलोचना हुन थालेको छ । यसले काँग्रेसभित्रबाट पनि स्वतन्त्र उम्मेदवारलाई अगाडि बढाउने सम्मको तयारीहरु हुन थालेको छ ।

निर्मलालाई उम्मेदवार बनाउन रोक्न खोज्नुमा अन्य उम्मेदवारहरु पैसा खर्च गर्न तयार हुने पनि कारण रहेको बुझिएको छ । यसरी बहालवाला उपमेयरलाई पाखा लगाएर पैसावाललाई उम्मेदवार बनाउने खेल भएसँगै नेकपा एसलाई महालक्ष्मीमा धक्का लाग्ने अवस्था बनेको छ । महालक्ष्मी नगरपालिका रहेको ललितपुर क्षेत्र नं २ का सांसद कृष्णलाल महर्जन नेकपा एसमा छन् । प्रदेशको चुनाव जितेका माधव पौडेल पनि नेकपा एसमै छन् । गठबन्धन बन्दा एसकै दाबी हुनसक्छ । तर, महालक्ष्मीमा एसलाई धक्का लागेमा प्रतिनिधि सभा चुनाव र प्रदेश सभा चुनावमा धेरै उतारचढावहरु आउन सक्ने आँकलन हुन थालेको छ ।



प्रतिक्रिया दिनुहोस्