कांग्रेसले यी सात कार्य गर्नेछैन


काठमाडौं, ११ वैशाख । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै आज घोषणापत्र जारी गरी सात कार्य नगर्ने प्रतिवद्धता जनाएको छ । पार्टीको नीति र सिद्धान्त, सुशासनका मापदण्ड र जनताप्रतिको उत्तरदायित्वलाई पूर्णरुपमा आत्मसात गर्दै कांग्रेसको तर्फबाट स्थानीय सरकारको नेतृत्व गर्ने प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरूले ती सात काम नगर्ने घोषणापत्रमा उल्लेख छ ।

‘जनताको करबाट उठेको राजस्वलाई भ्युटावर, स्वागतद्वार जस्ता अनुत्पादक क्षेत्रमा लगानी गर्दैनौं,’ घोषणापत्रमा भनिएको छ, ‘सरकारी सम्पत्तिको दुरुपयोग तथा प्राकृतिक स्रोत–साधनको दोहन गर्दैनौ, गर्न दिने छैनौं ।’

यस्तै, कानूनको सीमा भन्दा बाहिर गएर तथा आर्थिक प्रलोभन वा व्यक्तिगत प्रभावमा परेर कुनै पनि निर्णय वा काम नगर्ने प्रतिवद्धता पनि घोषणापत्रमा गारिएको छ ।
कांग्रेसले घोषणापत्रमा नातेदार वा परिवारका सदस्यलाई सल्लाहकार, विज्ञ, कर्मचारी वा सहयोगी नियुक्त नगर्ने जनाएको छ ।

‘निर्दिष्ट योजना र विनियोजित स्रोत सीमा वाहिर गइ अपारदर्शी वा अनुत्तरदायीरुपमा, हचुवाका भरमा कुनै पनि निर्णय वा काम गर्दैनौं, गर्न दिने छैनौं,’ कांग्रेसले भनेको छ ।

कानून, आर्थिक तथा वित्तीय उत्तर दायित्व र अनुशासनको उल्लंघन नगर्ने प्रतिवद्धता घोषणापत्रमा गरिएको छ । महिला माथी हुने हिंसा, जातीय भेदभाव, लैंगिक विभेद, सामाजिक विकृति र विसंगतिलाई प्रोत्साहन हुने कुरामा प्रत्यक्ष तथा परोक्षरुपमा समेत कुनै पनि अवस्थामा संलग्न नहुने जनाइएको छ ।

Skip This

Omoda E5 Pro