Logo

आइजीपी नियुक्तिविरुद्ध पोखरेल र थापा अदालत जालान् ?



काठमाडौं, १८ वैशाख । नेपाल प्रहरीको आइजीपीमा धीरज प्रताप सिंहको नियुक्तिसँग एआइजीद्वय विश्वराज पोखरेल र सहकुल थापाले गम्भीर असहमति जनाएको बुझिएको छ । उनीहरुले अदालतमा रिट दायर गर्ने सम्मको तयारी गरेका छन् ।

पोखरेलले आफूभन्दा वरियतामा पछाडि र १६ महिना अघि एआइजी बनेका धीरज प्रताप सिंहलाई आइजीपी बनाइएकोमा अदालत जानेबारे परामर्श बढाएको विश्वस्त स्रोतले बताएको छ । उनले डिआइजी र एआइजी बढुवामा सिंह निकै पछि रहेको, वरियतामा तेस्रो नम्बरमा रहेको विषय उठाएर अदालत जाने तयारी गरेको बुझिएको छ ।

एआइजी सहकुल थापा पनि डिआइजी र एआइजी बढुवामा सिंह भन्दा अगाडि वरियतामा थिए । थापा ११ महिना अघि नै एआइजी भएका थिए । सिंह एक महिना अघि मात्र एआइजीमा बढुवा भए । यो विषय राखेर थापा पनि अदालत जानेबारे परामर्शमा लागेको बुझिएको छ ।

बढुवामा वरियता मिचिएकोमा असन्तुष्ट एआइजीहरु परामर्शमा रहेको, अदालत आज बन्द भएकाले तत्काल गइहाल्ने अवस्था छैन ।

आइजीपी बनेका धीरज प्रताप सिंह विश्वराज पोखरेल र सहकुल थापाकै ब्याची हुन् । इन्स्पेक्टरमा भर्ना हुँदा सिंह एक नम्बरमा थिए । डिएसपी र एसपीमा बढुवा हुँदा पनि एक नम्बरमै थिए । तर, एसएसपी बढुवामा पोखरेलले सिंहलाई उछिने ।

डिआइजी बढुवामा पोखरेलले छलाङ मारे । पोखरेलले एआइजी बढुवा हुँदा पनि दरबन्दी नै सृजना गर्ने अवस्था बनाएर बाजी मारे । थापाले पनि डिआइजी र एआइजी बढुवामा छलाङ मारेका थिए । एआइजीमा उनको बढुवाका लागि दरबन्दी नै सृजना गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्