Logo

जानकीलाई सम्झदै मैथिल



काठमाडौँ,२७ वैशाख । महोत्तरीसहितका मिथिला क्षेत्रमा आज जानकी नवमी पर्व मनाइँदै छ । धर्तीपुत्री मानिने जानकी वैशाख शुक्ल नवमीका दिन राजा जनकले जोतेका हलोको सियोबाट उत्पन्न भएकी विश्वासमा आज यो पर्व मनाइँदै गरिएको हो । त्रेतायुगमा राजा जनकले हलो जोत्दा धर्तीबाट आदर्श नारी सीता उत्पत्ति भएकी विश्वासमा मिथिलामा यस दिनलाई जानकी नवमी पर्व भनेर उत्सव मनाउने गरिएको छ ।

पर्वका अवसरमा जिल्लाको मटिहानीस्थित लक्ष्मीनारायण मठमा बिहानैदेखि जानकी नवमी पर्वको अवसरमा विशेष पूजापाठ गरिँदै छ । जानकी नवमी पर्वको विशेष आराधना र उत्सवमा सहभागी हुन नेपाल–भारतका साधु, सन्त र सर्वसाधारण सहभागी छन् । लक्ष्मीनारायण मठ मुलुकभरकै मठमध्येको मुख्य मठ र यहाँका महन्थ ‘मानमहन्थ’ भनिन्छन् ।

मिथिला, जानकी, जनकनन्दिनी, वैदेही र किशोरीजीसहितका नामले पुकारिने विदेहराज जनक (शिरध्वज) पुत्री सीता राजा जनकले हलो जोत्दा तत्कालीन मिथिला क्षेत्रको पुनौरा (हाल भारतको सीतामढी जिल्लामा पर्ने) भन्ने ठाउँमा आजकै दिन हलोको टुँडोले उप्काएको माटोबाट उत्पत्ति भएकी विश्वास गरिन्छ । आफ्नो विद्वता, सहनशीलता र स्वधर्म निर्वाहले आदर्श नारी मानिएकी सीता मुलुककै गौरव भएकीले मिथिलामा मात्र नभई मुलुकभर नै यो पर्व मनाइनुपर्ने मठका उत्तराधिकारी रवीन्द्र दास वैष्णव बताउछन् ।

मिथिला (विदेह)मा अनिकाल पर्दा राजा जनकले हलो जोते पानी पर्छ भन्ने विद्वत्सभामा मत आएपछि राजा जनकले आफ्नो राज्यभर हलो जोत्दा माटोबाट जानकी उत्पत्ति भएकी मानिन्छ । जानकीले माइतीमात्र नभएर आफ्नो पतिघर (भारतको तत्कालीन अवध, जसको राजधानी अयोध्या मानिन्छ)को गौरवसमेत बढाएर आदर्श नारी बनेकी हिन्दू जनविश्वास छ ।

जानकी नवमी पर्वमा धार्मिक प्रवचन, रामायण वाचन, सीता जन्मसम्बन्धी लघुनाटक प्रदर्शन र रात्रि कीर्तनका कार्यक्रम मिथिला क्षेत्रका मन्दिर, मठ र धार्मिकस्थलमा आयोजन गरिँदै आइएका छन् । आफ्नो माटोसँग गहिरो नाता जोडिएकी रामायणकालीन पौराणिक पात्र ‘मिथिला’ लाई मैथिल विशेष श्रद्धासाथ सम्झना गर्छन् । माइती मिथिलादेखि अवधसम्म ‘आदर्श नारी’ को परिचय बनाएकी सीतालाई हिन्दू परम्परामा ‘देवी’ को अवतारका रूपमा मानिँदै, पुजिँदै आइएको छ ।

राष्ट्रिय विभूति सीताको जन्मदिनलाई राष्ट्रिय धार्मिक पर्वकै रूपमा ‘जानकी नवमी’ मनाइनपर्ने माग विगतदेखि मिथिलावासीले उठाउँदै आएका छन् । यस दिन मुलुकभर नै सार्वजनिक बिदा दिएर उत्सव मनाउनपर्ने जनकपुरधामस्थित जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव बताउछन् । पर्वको अवसरमा मधेस प्रदेश सरकारले भने सार्वजनिक बिदा दिँदै आएको छ । रासस



प्रतिक्रिया दिनुहोस्