Logo

मताधिकारको उपयोग गर्न आह्वान



काठमाडौँ,२८ वैशाख । सुशील कोइराला मेमोरियल फाउन्डेसनले संविधानप्रदत्त मतदानको अधिकारको सदुपयोग गरी मुलुकमा शान्ति, समृद्धि र लोकतन्त्रको स्थायित्वका लागि आ–आफ्नो ठाउँबाट ऐतिहासिक भूमिका निर्वाह गर्न आह्वान गरेको छ ।

संविधानसभाबाट जारी नेपालको संविधान २०७२ अनुसार हुन लागेको दोस्रो स्थानीय तहको निर्वाचनमा सहभागी भई वडा एवं टोल तहसम्म लोकतान्त्रिक अभ्यासमा जुट्न पनि फाउन्डेसनले आम जनसमुदायमा अनुरोध गरेको हो । दोस्रो संविधानसभा निर्वाचनपछि सुशील कोइरालाको नेतृत्वमा बनेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई सबैले स्वीकार गरी पूर्णरुपमा कार्यान्वयनमा अघि बढिसकेको फाउन्डेसनले उल्लेख गरेको छ ।

फाउन्डेसनका सदस्य सचिव अतुल कोइरालाले आज जारी गर्नुभएको विज्ञप्तिमा निर्भिक भएर आफ्नो मतदानको अधिकारको उपयोग गर्न अनुरोध गरेका छन् । जनताको घर आँगनमा विकासको लहर एवं सार्वजनिक सेवा प्रवाह गर्ने स्थानीय सरकारको नेतृत्व छान्ने अवसरलाई नगुमाई सभ्य एवं सुसंस्कृत अभ्यासका आधारमा प्रतिस्पर्धा गर्न पनि फाउन्डेसनले सबैको ध्यानाकर्षण गराएको छ । रासस



प्रतिक्रिया दिनुहोस्