Logo

अरुले अर्काको आलोचना गरेर मत लिन खोजे, बालेनले काठमाडौं बनाउँछु भनेर मत मागेः देउवाका कानुनी सल्लाहकार



काठमाडौं, ५ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाको कानुनी सल्लाहकार केशवराज जोशीले गठबन्धनबाट नेपाली कांग्रेसको विजयमा सहयोग भएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सल्लाहकार जोशीले भने, “गठबन्धनले नेपाली कांग्रेसलाई धक्का लागेको छैन । धेरै फाइदा पनि होइन, धेरै घाटा पनि होइन । गठबन्धनले कांगे्रसलाई केही मत थपिएको छ । प्रमुख र उपप्रमुखमध्ये एउटा छाड्दा कार्यकर्तामा निराशा पनि छाएको छ । कञ्चनपुरमा गठबन्धन भएन, राम्रो नतिजा आएको छ । कैलालीमा गठबन्धन भएको छ, राम्रो नतिजा आएको छैन ।”
गठबन्धनमा माथिबाट निर्णय गरे पनि जनताले आफ्नो विवेक प्रयोग गरेको जोशीले बताए । उनले थपे, “स्थानीय तह भनेको जनताबाट प्रत्यक्ष चुनिने सरकार हो । गठबन्धनभन्दा पनि कामकाज, बोली, व्यवहार छवि हेरेर मत दिने हो । माथिबाट यसो गर, उसो गर भनेर जनताले मान्दैनन् । स्थानीय तहमा जनताले उपयुक्त उम्मेदवार खोज्छन् ।”
उनले सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस एक नम्बर पार्टी बन्ने पनि बताए । जोशीले भने, “सबै नतिजा आइसकेको छैन । तर सुदूरपश्चिममा कांग्रेस नै पहिलो पार्टी बन्छ । जहाँसम्म धनगढीको सवाल हो, गोपाल हमाल यस अगाडिका पनि प्रतिद्वन्द्वी हुनुहुन्छ । उहाँ २०७४ असार १४ देखि नै निर्वाचनमा लानुभयो । सत्तामा बसेको व्यक्तिले सबैलाई सन्तुष्ट गर्न सक्दैन । गोपाल हमालले केही गर्छन् भन्ने आशामा असन्तुष्ट मत उता गयो । १९ वडामा कांग्रेसको मत यथावत् छ । कहिल्यै नजितेको वडामा जितेको छ । कांग्रेसको जनमत कम भएको छैन ।”
स्थानीय तहको परिणामबाट गठबन्धनमा दरार नआउने उनले ठोकुवा गरे । उनले भने, “गठबन्धनले सबै ठाउँमा सही परिणाम आउँछ भन्ने छैन । गठबन्धन गरेकाले पोखरामा एकीकृत समाजवादी, चितवनमा माओवादी केन्द्र, वीरगन्जमा जसपा सबै अगाडि छन् । हिजो हामीले एक्लै जितेको ठाउँ धनगढीमा अहिले गठबन्धन गरेर पनि हार्दैछौं । मिश्रित प्रणालीका कारण चुनावपछि गरे पनि चुनाव अघि गरे पनि गठबन्धनको विकल्प छैन ।”
काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रतालाई सम्मान गर्नुपर्ने पनि उनले बताए । उनले थपे, “अरुले अर्काको आलोचना गरेर मत लिन खोजे, बालेनले काठमाडौं बनाउँछु भनेर मत मागे । यसलाई त सम्मानै गर्नुपर्छ नि ।”



प्रतिक्रिया दिनुहोस्