Logo

कांग्रेसले ५ दलसँग मात्र गठबन्धन गरेको थियो, एमालेले त ९ दलसँग गठबन्धन गरेको थियोः मोहनबहादुर बस्नेत



काठमाडौं, ६ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले गठबन्धन नगरीकन पनि आफ्नो पार्टी निर्वाचन लड्न सक्षम रहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले भने, “स्थानीय तहको निर्वाचनले नेपाली कांग्रेस अत्यधिक मतले पहिलो पार्टी भइसकेको छ । धेरैले गठबन्धन गरेकाले कांग्रेसले जितेको भन्दै आएका छन् । त्यो कुरा म मान्दिनँ । किनभने गठबन्धन नगरेको जिल्लामा जितेको छ, गठबन्धन गरेको जिल्लामा हारेको छ । जहाँ गठबन्धन छैन, त्यहाँ कांग्रेसले जितिरहेकाले कांग्रेस एक्लै लड्न सक्षम रहेको देखाउँछ । व्यक्तिगत रुपमा पनि म गठबन्धन गरिरहनुपर्छ भन्ने पक्षमा छैन । आफ्नो हैसियत देखाउन र नेता कार्यकर्तालाई सजिलो पार्न एक्लै चुनाव लड्नु राम्रो हो ।”
उनले कांग्रेसले ५ दलसँग गठबन्धन गरेको थियो भने एमालेले ९ दलसँग गठबन्धन गरेको पनि बताए । बस्नेतले थपे, “तालमेलका कारण मात्र पहिलो पार्टी भएको होइन । देशभरि तालमेल भएको पनि होइन । मेरै जिल्ला सिन्धुपाल्चोक, डडेलुधरा, कञ्चनपुरमा पनि तालमेल भएको थिएन । गठबन्धन हुँदैमा ख्वाप्प ख्वाप्प भोट आउने होइन । मेरो निर्वाचन क्षेत्रमा हामीले दुइटा पालिकाबाहेक अरुमा एक्लै लडेका थियौं । सात पालिकामध्ये तीन पालिकामा जितेका छौं, तीन पालिकामा उपाध्यक्ष जितेका छौं । एक पालिकामा हारेका छौं । एमाले र माओवादी केन्द्र मिल्दा पनि जिल्लामा कांग्रेस पहिलो पार्टी भएको छ ।”
टिकट वितरण प्रक्रियालाई लिएर गठबन्धनको औचित्य पुष्टि गर्न कठिन हुने गरी बागी उठिरहेको पनि कांग्रेस नेता बस्नेतले औंल्याए । उनले भने, “तालमेल गर्दा कांग्रेसलाई नोक्सानी पनि भएको छ । टिकट वितरण प्रक्रियालाई लिएर गठबन्धनको औचित्य पुष्टि गर्न कठिन हुने गरी बागी उठिरहेका छन् । कतिपय ठाउँमा जितेका पनि छन् । त्यसैले मैले एक्लै लड्नुपर्छ भन्दै आएको हुँ । एउटा चुनाव जित्दैमा वा हार्दैमा कांग्रेस विचलित हुने पार्टी होइन । हारेछ भने पनि दोस्रो पार्टी हुने हो । जनताले खोज्ने रोज्ने पार्टी कांग्रेस नै हो । विकासवादी पार्टी कांग्रेस मात्रै हो ।”
काठमाडौं महानगरपालिकाको नतिजाले दलहरुलाई सच्चिन प्रेरित गरेको पनि उनले बताए । बस्नेतले भने, “काठमाडौंमा कांग्रेस, एमाले, माओवादीप्रति वितृष्णा भएको भनिए पनि त्यो सम्पूर्ण रुपमा सत्य होइन । काठमाडौंमा हामीले जितेको उदाहरण पनि छ, हारेको पनि उदाहरण छ । काठमाडौंको जनमत कहिलेकाहीं बरालिन्छ । त्यहाँ नानीमैया दाहालले पनि अत्यधिक मत ल्याएर जितेको हो । बालेन शाहलाई न तपाईंले चिन्नुभएको थियो, न मैले चिनेको थिएँ । टिकट वितरणमा केही कमजोरी भएको हुन सक्छ । पार्टीहरु सच्चिनुपर्छ, सुध्रिनुपर्छ भन्ने जनमतको सम्मान गर्नुपर्छ ।”

 



प्रतिक्रिया दिनुहोस्