Logo

गठबन्धन गरेका आधाजसो पालिका पनि जित्न सकेनौंः प्रदीप पौडेल



काठमाडौं, ८ जेठ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले गठबन्धन गरेको ठाउँमा ५० प्रतिशत पनि जित्न नसकिएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले भने, “हामीले देशभरिका सबै पालिकामा गठबन्धन गरेका थिएनौं । जम्मा एक तिहाइ अर्थात् २१० पालिकामा गठबन्धन गर्दा देशभरि गरेजस्तो हौवा पिटाइयो । तर काठमाडौं, धरान, धनगढी लगायत थुप्रै पालिकामा गठबन्धनको उपयोग भएन । गठबन्धनभित्र ५० प्रतिशत पनि जित्न सकेनौं । आन्तरिक व्यवस्थापन हुन सकेको भए कांग्रेसले ४ सयको हाराहारीमा जित्न सक्थ्यो ।”
नेता पौडेलले गठबन्धनभित्र कसैले कसैलाई धोका दिएको भन्न नमिल्ने पनि औंल्याए । उनले भने, “जनताको मत ट्रान्सफर गर्न सजिलो छैन । कांग्रेसको भोट नियन्त्रित पनि छैन । शीर्ष नेताले आह्वान गर्यो भन्दैमा डेमाक्र्याटको भोट सर्लक्क जाँदैन । यस्तो त कांग्रेसले कम्युनिस्टलाई र कम्युनिस्टले कांग्रेसलाई गर्न सकेको छैन । तर कसैलाई कसैले धोका दिएको होइन ।”
कांग्रेसले गठबन्धनका नाममा धेरै लचिलो र कतिपय ठाउँमा जोर जबर्जस्ती गर्दा अपेक्षाकृत नतिजा आफ्नो पक्षमा नआएको पनि उनले बताए । पौडेलले थपे, “गठबन्धनमा कांग्रेस धेरै लचिलो भयो । तर कांग्रेसलाई सोचेजस्तो उपलब्धि हासिल हुन सकेन । जनतालाई हामीले गठबन्धन गरेका छौं, तिमीले भोट हाल भन्दैमा हुँदो रहेनछ । सँगै छौं भन्नका लागि जबर्जस्ती गर्दा पनि राम्रो भएन ।”
काठमाडौंलगायत सहरका सचेत मतदाताले दलहरुलाई विशेष सन्देश दिन खोजेको देखिएको कांग्रेस नेता पौडेलले बताए । उनले भने, “काठमाडौं, धनगढी, धरानमा सरल र व्यावहारिक रुपमा एजेन्डा राखेर स्वतन्त्र युवा साथीहरु आउनुभएको छ । यसको अर्थ दलप्रति जनताको वितृष्णा छ या कांग्रेस तिरस्कृत भएको भन्ने होइन । स्वतन्त्र उम्मेदवारप्रतिको आकर्षण देखियो । हामीले जनताका बीचमा बुझिने ढंगले एजेन्डा राख्न सकेनौं कि ? जनताको सबै एजेन्डा समेट्न सकेनौं कि ? त्यो जनमतले हामीलाई सचेत गराउन खोजेको छ । यसले हामीलाई समीक्षा गर्न बाध्य बनाएको छ । यो एकप्रकारको नसिहत हो ।”
आगामी संघ र प्रदेशको निर्वाचनमा पनि गठबन्धन हुने उनले औंल्याए । पौडेलले भने, “स्थानीय तहमा गठबन्धन आवश्यकता नै थिएन । तर संघ र प्रदेशको निर्वाचनमा सँगै जानुपर्ने भएकाले त्यसको पूर्वाभ्यास गरिएको हो । त्यसैले अबको चुनावमा एक्लै जाने स्थिति हुन्छ भन्ने मलाई लाग्दैन ।”



प्रतिक्रिया दिनुहोस्