Logo

काँग्रेसलाई देशभर स्वतन्त्र उम्मेदवारको चुनौती



काठमाडौं, ८ जेठ । नेपाली काँग्रेसलाई देशभर स्वतन्त्र उम्मेदवारको चुनौती देखिएको छ । काँग्रेसको पकड रहेको रणनीतिक महत्वका पालिकाहरुमा स्वतन्त्रले जितेका छन् भने कतिपयमा जितको नजिक छन् ।

धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले काँग्रेसका नृपबहादुर वडलाई भारी मतान्तरले पराजित गरेका छन् । वड निवर्तमान मेयर हुन् । अघिल्लोपटक वडले हमाललाई पराजित गरेका थिए । यसपटक हमालले बाजी मारे ।

धरानमा स्वतन्त्र उम्मेदवार हर्कराज राई जीतको नजिक पुगेका छन् । मतगणना अन्तिम चरणतिर पुग्दा उनले काँग्रेसका उम्मेदवार किशोर राईलाई साँढे ३ हजार मतले पछि पारिसकेका छन् । त्यहाँ एमाले तेस्रो स्थानमा छ ।

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार वालेन साहले नेपाली काँग्रेसकी सृजना सिंहलाई ठूलो मतान्तरले पछि पारेका छन् । काठमाडौंमा केशव स्थापित तेस्रो स्थानमा छन् ।

देशका प्रमुख शहरहरुमा स्वतन्त्र हावी हुँदा सबैभन्दा ठूलो चुनौती काँग्रेसमाथि देखिएको छ । नेकपा एमालेले स्वतन्त्रको चुनौती कमैमात्र झेल्नुपरेको छ जबकि काँग्रेसले सबैभन्दा बढी सामना गर्नुपरेको छ । धरान, धनगढीमा मात्र नभई काठमाडौंमा पनि काँग्रेसको चुनौती स्वतन्त्र बन्न पुगेको छ ।

भरतपुर महानगरपालिकामा मेयर पदमा उम्मेदवारी दिएका जगन्नाथ पौडेल पनि काँग्रेसका बागी हुन् । जनकपुरमा काँग्रेसका बागी मनोजकुमार साह जीतको नजिक पुगिसकेका छन् । त्यहाँ गठबन्धन बनेकाले काँग्रेसले उम्मेदवारी दिएको छैन ।

बर्दिवासमा प्रल्हादकुमार क्षेत्रीले स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका छन् । उनले माओवादीका राजु खड्कालाई झण्डै ६ हजार मतले पछि पारे । त्यहाँ काँग्रेसका चिरञ्जीवी हमालको जमानत नै जफत भयो । क्षेत्री काँग्रेसका बागी उम्मेदवार हुन् । उनको टिकट केन्द्रले खोसेको थियो ।

काँग्रेसका बागी उम्मेदवार देशका कतिपय पालिकामा विजयी भएका छन् । कतिपयमा सम्मानजनक मत पाएका छन् । बागी उम्मेदवारी दिएकाले उनीहरु पार्टीबाट स्वतः निष्काशित भएका छन् । तर, स्वतन्त्र उम्मेदवारी दिंदा पनि जित्ने हैसियत राखेका उम्मेदवारहरुलाई रोक्नुले काँग्रेसको टिकट बाँडफाँडमा ठूला गल्तीहरु भएको स्पष्ट भएको छ ।

काँग्रेसभित्र टिकट बाँडफाँडमा स्थानीय निकायमा बसेर काम गरेकाभन्दा केन्द्रमा नेताको घर दैलोमा धाइरहनेले बढी फाइदा लिन सकेको विश्लेषण हुन थालेको छ । यसको असर चुनावी परिणाममा देख्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्