Logo

काँग्रेस र माओवादीले बढाए, एमालेले गुमायो



काठमाडौं, ८ जेठ । यसपालीको स्थानीय चुनावमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले २०७४ को चुनावको तुलनामा बढी पालिका जितेका छन् । नेकपा एमालेले भने गएको चुनावको तुलनामा बढी पालिका गुमाएको छ ।

देशभरका ७५३ पालिकामध्ये ७०८ को नतिजा आइसकेको छ । ४३ पालिकाको मतगणना जारी रहँदा आउने परिणामले पनि काँग्रेसलाई पहिलो स्थानमा उकाल्ने र एमालेलाई दोस्रो स्थानमा झार्ने निश्चित छ । २ पालिकामा मतगणना नै सुरु भएको छैन ।

माओवादी केन्द्रले १२० पालिका जितेको छ । २ स्थानमा माओवादी अगाडि छ । माओवादीले पनि २०७४ को स्थानीय चुनावको तुलनामा बढी पालिका जितिसकेको छ । त्यतिबेला १०६ पालिका जितेको थियो ।

जनता समाजवादी पार्टीले २८ पालिका जितेको छ । ३ पालिकामा अगाडि छ । जसपाले भने २०७४ को हाराहारीमै पालिका जित्ने अवस्था बनेको छ । त्यतिबेला जसपा संघीय समाजवादी फोरमको नाममा चुनाव लडेर ३४ पालिका जितेको थियो ।

तत्कालीन राजपा अहिले लोकतान्त्रिक समाजवादी पार्टी बनेको छ । लोसपाले १२ पालिका जितेको छ । उसले ५ मा अग्रता कायम राखेकाले विगतको तुलनामा कम संख्या जित्ने देखिन्छ । त्यतिबेला राजपाले २५ पालिका जितेको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ पालिका जितेको छ । २०७४ मा उसले ५ पालिका जितेको थियो । यसपटक राप्रपाको देशभर मत भने बढेको देखिन्छ ।
नेकपा एस नेकपा एमालेबाट फुटेर बनेको दल हो । उसले १७ पालिका जितेको छ । २ पालिकामा अगाडि छ । एस स्थानीय चुनावमा पाचौं ठूलो दल बन्ने अवस्थामा छ ।

गठबन्धनको राष्ट्रिय जनमोर्चाले पनि विगतको तुलनामा बढी पालिका जितेको छ । जनमोर्चाले विगतमा ३ पालिका मात्र जितेको थियो ।

नेमकिपाले २०७४ को जस्तै भक्तपुर नगरपालिका मात्र जितेको छ । यसपटक रेशम चौधरीसँग सम्बन्धित दल नागरिक उन्मुक्ति पार्टीले कैलालीमा ३ पालिका जितेको छ । रमेश खरेलको नेपाल सुशासन पार्टी, सीके राउत नेतृत्वको जनमत पार्टी, हृदयश त्रिपाठीको जनता प्रगतिशील पार्टी, वृषेशचन्द्र लाल नेतृत्वको तमलोपाले पनि खाता खोलेका छन् ।



प्रतिक्रिया दिनुहोस्