Logo

गठबन्धनबाट जसपालाई कुनै फाइदा भएको छैन, एक्लै लडेको भए बरु धेरै सिट जित्थ्योः राजकिशोर यादव



काठमाडौं, ९ जेठ । जनता समाजवादी पार्टी (जसपा) का नेता राजकिशोर यादवले ५ दलीय गठबन्धनबाट आफ्नो पार्टीलाई कुनै फाइदा नभएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता यादवले भने, “यथार्थ कुरा गर्ने हो भने गठबन्धनबाट हामीलाई कुनै फाइदा भएको छैन । बरु गठबन्धन बाहिर गएको भए बढी सिट जित्थ्यौं । फाइदा र बेफाइदा खोज्ने भनेको व्यापारमा हो, राजनीतिमा खोज्ने भनेको नीति, मूल्य र मान्यता हो । गठबन्धनका नाममा जबर्जस्ती सिन्डिकेट निर्माण गर्न खोज्दा काठमाडौं, जनकपुर, कलैया, धरान, धनगढीमा स्वतन्त्र मत अभिव्यक्त भयो । यो पार्टी नेतृत्वको छोटे राजाजस्तो बुझाइप्रतिको विद्रोह हो । माथिबाट जबर्जस्ती लाद्दैमा जनताले मान्नेवाला छैनन् । राजनीतिमा आएको संकेतलाई चिन्न सक्नुभएन भने चर्को मूल्य पर्छ । हिजोकै पाराले आफ्नो अनुकूलतामा राजनीतिक भाष्य बनाएर जनतालाई ठग्ने समय छैन ।”
स्थानीय तहको निर्वाचन परिणामलाई लिएर गठबन्धनमा गम्भीर समीक्षा हुने पनि उनले औंल्याए । यादवले भने, “ठूलो पार्टी भयो भने त्यसै चुनाव जितिन्छ, चुनाव चिह्न भयो भने जितिन्छ, जायज नाजायज कुकर्म जे गरे पनि जितिन्छ भन्ने मनोविज्ञानले झापड खाएको छ । जसपा गठबन्धन वा सरकारबाट बाहिरिने कुरा मैले भन्न सक्ने स्थिति छैन । तर अब गठबन्धनको पनि समीक्षा हुन्छ ।”
जसपा नेता यादवले मुलुकमा सरकार छ कि छैन भन्ने अवस्था सिर्जना भएको आरोप पनि लगाए । उनले भने, “जनताको ढाड सेक्ने गरी मूल्यवृद्धि भएको छ । मुलुकमा सरकार छ कि छैन भन्ने अवस्था सिर्जना भएको छ । यो गैरजिम्मेवारीको पराकाष्टा हो । मन्त्रीहरु जनताको सेवा र राहतमा भन्दा पनि शक्ति सञ्चयमा लागेका छन् । जनताले सरकार भएको अनुभूति गर्न पाएका छैनन् । जनप्रतिनिधिका रुपमा म सदनमा जनताको आवाज जोडदार रुपमा उठाउँछु ।”



प्रतिक्रिया दिनुहोस्