Logo

कांग्रेस प्रवक्ताको दाबी : अन्तरघात नभएको भए कांग्रेसले चार सयभन्दा बढि पालिका जित्थ्यो



काठमाडौं, ९ जेठ : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस भित्र अन्तरघात नभएको भए अझै बढी पालिकाको नतिजा कांग्रेसको पक्षमा आउने बताएका छन् । आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले अन्तरघातका कारण कांग्रेसले केही पालिका गुमाउनु परेको जनाए ।

‘हाम्रो पार्टीमा अहिले पनि अन्तरघातको समस्या समाप्त भएको छैन । यदि हाम्रो पार्टीमा अन्तरघात नभइदिएको भए यति मात्र होइन ४०० को नजिक जित संख्या पुयाउँथ्यौ भन्ने हाम्रो अनुमान छ,’ उनले भने ।

पत्रकार सम्मेलनमा उनी बोलिरहँदा देशका ७५३ वटा पालिकामध्ये ३२१ वटाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी बनेका थिए ।‘सबै पालिकाको नतिजा आएपछि पार्टीले बैठक बसी समिक्षा गर्ला । यद्यपी नतिजा सकारात्मक छ, सन्तुष्टीजनक छ,’ प्रवक्ता महतले भने ।

निर्वाचनको परिणामले गठबन्धनमा रहेका दलहरुबीच विश्वासको आधार मजबुत बनाएको दाबी समेत उनले गरे । गबन्धन नगरी एक्लै लडेका स्थानमा पनि कांग्रेसले व्यापक सफलता प्राप्त गरेको उनले जनाए । ‘नगरपालिकाहरुमा झण्डै ५० प्रतिशत हाराहारीमा कांग्रेसले जित हासिल गरेको छ । मतदाता, जनसंख्यालाई आधार मान्ने हो भने आधा ठाउँमा जित हासील गरेका छौं भन्न सक्छौं,’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्