Logo

बालिका बलात्कारमा हदम्याद राख्नुहुन्न, गठबन्धनमा गुनासो गर्ने ठाउँ छैन, कांग्रेसलाई ‘कम्फरटेबल’ भयो: महिला मन्त्री



काठमाडौं, १० जेठ । महिला तथा बालबालिका र सामाजिक सुरक्षा मन्त्री उमा रेग्मीले बालिका बलात्कारमा हदम्याद राख्न नहुने बताएकी छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री रेग्मीले भनिन्, “बलात्कारमा पर्दा सुस्मिता नाबालक थिइन् । आफ्नो कुरा भन्न सकिनन् । अब उनलाई बलात्कारमा हदम्याद सकियो, तिमीले न्याय पाउन सक्दिनौ भन्न मिल्दैन । बालिका बलात्कारको केसमा हदम्याद राख्नुहुन्न भनेर संसद्को महिला समितिमा हिजो पनि छलफल भएको छ । हाम्रो मन्त्रालयले पनि यसको प्रक्रिया अघि बढाउँछ ।”
मन्त्रालयले आमाको नामबाट नागरिकता दिने विषयलाई पनि प्राथमिकतामा राखेको मन्त्री रेग्मीले बताइन् । उनले भनिन्, “नागरिकता विधेयक हाउसमा छ । आमाको नागरिकता दिने कुरा अत्यन्त महत्त्वपूर्ण छ । किनभने तिनका छोराछोरी लामो समयदेखि अनागरिक छन् । कानुनको मस्यौदा गर्ने कानुन मन्त्रालयले हो । तर यसका बारेमा पनि हामीले सक्दो पैरवी गर्छौं ।”
संघीयता कार्यान्वयनमा आएपछि देशभरिका महिला विकास कार्यालय खारेज भएकाले परेको अप्ठ्यारो फुकाउन पनि मन्त्रालय लागिपरेको उनको भनाइ छ । उनले भनिन्, “संघीयताका कारण देशभरिका महिला विकास कार्यालय खारेज भए । देशभरिका महिलाहरु सिंहदरबार धाउनुपर्ने अवस्था छ । त्यसका लागि हरेक जिल्लामा सानो सम्पर्क इकाई हुनुपर्छ भन्ने हिसाबले पनि हामी लागिरहेका छौं । साथै उद्यमी नबनीकन महिला आत्मनिर्भर हुन सक्दैनन् ।”
आवश्यक बजेटको अभावमा महिला मन्त्रालयले काम गर्न नसकेको उनले औंल्याइन् । मन्त्री रेग्मीले भनिन्, “महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांग, यौनिक अल्पसंख्यकको ७५ प्रतिशत जनसंख्यालाई अभिभावकत्व दिने मन्त्रालयले बल्ल १ अर्ब ४५ करोडको मुख देखेको छ बजेटमा । घरेलु हिंसा, सामाजिक हिंसा भए पनि बोल्न सक्दैनन् । त्यसैले महिलालाई उद्यमी बनाउने कार्यक्रम ल्याउने सोच्दैछौं ।”
स्थानीय तहको निर्वाचनमा सबै दलले आआफ्नो हैसियत पाएको पनि उनको टिप्पणी छ । उनले थपिन्, “गठबन्धनमा गुनासो गर्ने ठाउँ छैन । सबैले आआफ्नो हैसियत अनुसारको जित हासिल गरेका छन् । हामीले गठबन्धन तोडेका छैनौं । नेकपा एकीकृत समाजवादीले हाम्रै कारण हेटौंडामा जित्यो, पोखरामा जित्दै छ । सबै नेताले राम्रै भयो भन्ने प्रतिक्रिया दिनुभएको छ । एमालेसँग प्रतिस्पर्धा गर्न गठबन्धन कम्फरटेबल भयो । अब संघीय निर्वाचनमा पनि गठबन्धन कायम गरेर अघि बढ्छौं ।”



प्रतिक्रिया दिनुहोस्