Logo

६ महिना गठबन्धन टिक्ला



काठमाडौं, ११ जेठ । स्थानीय तहको चुनावमा गठबन्धनका दलमध्ये तीनलाई लाभ पुगेको छ भने दुईलाई क्षति पुगेको छ । सबैभन्दा नोक्शान नेकपा एकीकृत समाजवादी पार्टीलाई परेको छ ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले २० पालिका मात्र जितेको छ । जबकि उसले ५० भन्दा बढी पालिका जित्ने आशा राखेको थियो । पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिकामा मेयर जित्नु नै माधव नेपालका लागि कार्यकर्तालाई केही समय आश्वस्त पार्ने बाटो बनेको छ । माधव नेपालले गृहजिल्ला रौतहटमा पनि महत्वपूर्ण सफलता हासिल गरेका छन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि गठबन्धनबाट सोचेजति उपलब्धि हासिल गर्न सकेनन् । यादवको दलले विगतमा जितेको जति पनि पालिका जित्न सकेन । उपेन्द्रका छोरा अमरेन्द्र यादव विराटनगरको उपमेयरमा पराजित भए । नेपाली काँग्रेसका नागेश कोइरालाले मेयर जित्दा गठबन्धनका साझा उम्मेदवार अमरेन्द्र भारी मतान्तरले पराजित हुनुले घात भएको चर्चा चलिरहेको छ ।

नेकपा माओवादी केन्द्रले गठबन्धनबाट लाभ लिएको छ । उसले २०७४ को भन्दा बढी पालिका जितेको छ । तर, माओवादीले पनि काँग्रेसले आफूहरुबाट लाभ लिएको तर आफ्ना उम्मेदवार काँग्रेसको मत नपाएर हारेको निष्कर्ष निकालेको छ ।

जनमोर्चा नेपालले भने गठबन्धनबाट लाभ लिएको छ । उसले २०७४ मा जितेको भन्दा बढी पालिका जितेको छ ।

यसरी गठबन्धनका दलहरुमध्ये कतिपयले नोक्शान भोगेको निष्कर्ष निकालेका छन् । नेकपा एस र जसपाभित्र गठबन्धनको विकल्पमा जानुपर्ने आवाज उठेको छ । माओवादीभित्र पनि प्रचण्डमाथि दबाब बढेको छ ।

गठबन्धनबीच तालमेल गरेरै मंसिरमा हुनसक्ने संसदीय चुनावमा पाँच दल जाने हुन् या होइनन् ? चासो बनेको छ । गठबन्धनबीच अबको दिनहरु चुनौतीपूर्ण बन्नसक्छ । गठबन्धनभित्रकै नेताहरु नयाँ ध्रुवीकरणमा सक्रिय भएका छन् । यसकारण पनि गठबन्धन अब ६ महिना जोगाउन चुनौती छ ।



प्रतिक्रिया दिनुहोस्