Logo

राजधानीसहित १३ पालिकामा स्वतन्त्रका मेयर र अध्यक्षले कसरी जीते



काठमाडौं, १२ जेठ । काठमाडौं महानगरपालिकामा बालेन साहको जीत सुनिश्चित भइसकेको छ । बालेनको उदयलाई धेरैले आश्चर्य मानेका छन् । तर, उनले दलहरुप्रति असन्तुष्ट मतदाताको मत लिन सके ।

नेताहरुले उम्मेदवार बनाउँदा आफ्नो मनोमानी गर्दा स्वतन्त्रले १३ पालिकामा बाजी मारेका छन् । जनकपुरधाममा काँग्रेसका बागी उम्मेदवार मनोजकुमार साह विजयी भए । गठबन्धनले जसपाका उम्मेदवारलाई साझा उम्मेदवार बनाएकोमा मतदाताले अस्वीकृत गरिदिए ।

धरानमा हर्कराज राई जिते । उनी एक्लै धरानको समस्याहरु उठाउँदै आएका थिए । त्यहाँ नेपाली काँग्रेस र नेकपा एमालेका उम्मेदवारलाई राईले पराजित गरे ।

धनगढीमा गोपाल हमाल जिते । उनी स्थानीय स्तरमा व्यवसाय र समाजसेवामा सक्रिय छन् । धनगढीमै बसेर स्थानीयको समस्या बुझ्दै आएका हमाल पूर्व राष्ट्रिय खेलाडी पनि हुन् ।

बर्दिवासमा प्रल्हाद क्षेत्री विजयी भए । उनी काँग्रेसका बागी उम्मेदवार हुन् । टिकट नपाएपछि बागी उठेका उनले काँग्रेसका आधिकारिक उम्मेदवारको जमानत जफत गरिदिए । यसबाट पनि काँग्रेसबाट टिकट बाँडफाँडमा गल्तीहरु भएको बुझ्न सकिन्छ ।

जुम्लाको चन्दननाथमा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत, चंखेलीमा प्यारीलाल शाही, डोल्पाको डोल्पोबुद्धमा कामी छोइवेल गुरुङ, कालिकोटको सान्ना त्रिवेणीमा मोहनबहादुर केसी, खाँडाचक्रमा कमल शाही, ओखलढुंगाको मानेभञ्ज्याङमा ज्ञानेन्द्र रुम्दाली, बैतडीको डिलासैनीमा सन्तोषप्रकाश जोशी विजयी भए ।

विजयी हुनेहरु कतिपय पार्टीबाट टिकट नपाएपछि विद्रोही बनेकाहरु हुन् । कतिपय पार्टी राजनीतिमा नलागी स्थानीय तहको समस्याको मुद्दा उठाउँदै आएकाहरु हुन् ।

दलबाट टिकट ल्याउनेहरु काठमाडौं, प्रदेश र जिल्ला सदरमुकाममा बढी केन्द्रित भई नेताको पछाडि मात्र लाग्ने परिपाठीका कारण पनि स्थानीय तहमा भिजेकाहरुले जीते । जित्नेहरु स्थानीय तहमै घुलमिल भइआएकाहरु छन् ।

पछिल्लो समय स्थानीय तहमा पकड बनाएका दलका नेता कार्यकर्ता प्राकृतिक स्रोतको दोहनमा लाग्नु, विकास निर्माणप्रति उदासिन हुनु, शहर केन्द्रित भएर रहनुले पनि दलहरुले धरातल गुमाउँदै गएका छन् । यसको फाइदा स्वतन्त्र उम्मेदवारहरुले उठान सके ।

चुनाव जितेपनि स्वतन्त्र उम्मेदवारहरु सामु काम गरेर देखाउने चुनौती छ । विगतमा विरोध गर्नेहरु अब विरोधको सामना गर्ने ठाउँमा पुगेका छन् । यो सजिलो विषय भने होइन ।



प्रतिक्रिया दिनुहोस्