Logo

अमेरिकी उपमन्त्री जियाको भ्रमणपछि नेपालको राजनीतिमा तरङ्ग, गठबन्धनमा संकटसँगै नयाँ ध्रुवीकरणको संकेत



समाचार विश्लेषणः १२ जेठ । भारतमा दलाई लामालाई भेटेर नेपाल छिरेकी तिब्बती मामलासमेत हेर्ने अमेरिकी उप सहायकविदेशमन्त्री उज्रा जीयाले यहाँको राजनीतिमा ठूलै तरङ्ग ल्याइदिएकी छिन् । जीयाले बौद्ध र जावलाखेलस्थित तिब्बती शरणार्थी शिविरमा घन्टौंको भेट गरिन् र फोटो पनि सेयर गरिन् । जीया तीन दिन नेपाल बसेर गइन् तर त्यसले यहाँको राजनीतिलाई निकै गिजोलिदिएको छ ।

जियाको भ्रमणप्रति छिमेकी चीनले चासो लिएको थियो । उसले नेपालको एक चीन नीतिप्रतिको प्रतिवद्धतामाथि कूटनीतिक माध्यमले प्रश्न उठाएको बुझिएको छ । यो मामलामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमै बोलेका छन् ।

ओलीले देउवा सरकारको एक चीन नीतिको नेपालको परराष्ट्रनीतिको प्रतिवद्धतामाथि प्रश्न मात्र गरेनन् जियाले गुम्बा गुम्बा स्कटिङसहित पुगेकोमा पनि प्रश्न गरे । उनले सिधै चीनविरुद्ध देउवा सरकार प्रस्तुत भएको आरोप लगाए । ओलीले घुमाउरो तरिकाले देउवा अमेरिकातर्फ ढल्केको आरोप लगाए । उनले भने,‘एउटा उपसहायकमन्त्री आउँदा कमज्वरो आउनुपर्ने कस्तो निरिहता हो ?’

जिया त फर्किइन् उनले भ्रमणले ल्याएको तरङ्गले गठबन्धनमा समेत कम्पन ल्याइसकेको छ । जसपा अध्यक्ष उपेन्द्र यादवको एमाले अध्यक्ष ओलीसँग भेटवार्ता भइसकेको छ । यो गठबन्धनका लागि शुभसंकेत होइन । अर्कोतर्फ, एमालेबाट फुटेर बनेको नेकपा एसभित्र पनि एकताको आवाज चर्किन थालेको छ । माधव नेपाल आफै जियाको भ्रमणप्रति सकारात्मक नभएको बुझिएको छ ।

नेकपा माओवादी केन्द्रभित्र पनि चीनसँग नजिकहरुको ठूलै संख्या छ । माओवादी नेताहरुको चीन ओहोरदोहोर भइ नै रहन्छ । जियाको भ्रमणप्रति माओवादी नेताहरुले मुख मात्र नफोरेका हुन् तर निकै असन्तुष्ट छन् । त्यसै पनि देउवासँग प्रचण्डको गठबन्धनप्रति माओवादी नेताहरु वर्षमान पुन, देव गुरुङ्ग, मातृका यादवलगायत सकारात्मक छैनन् । उनीहरुको दबाब प्रचण्डमाथि परिरहेको छ ।

चिनियाँ अधिकारीहरुले ओली र प्रचण्डलाई मिलाउन विगतमै खूबै कोशिश गरेका थिए तर सफल भएनन् । पछिल्लो समय जियाले नेपाल भ्रमण गरेर गिजोलिएको राजनीतिमा सबैभन्दा मौका चीनलाई नै परेको विश्लेषण हुन थालेको छ । यही विषय उठाएर चीनले नेपालमा कम्युनिस्ट पार्टीहरुबीचको एकतामा दबाब सृजना गर्न थालेको छ ।



प्रतिक्रिया दिनुहोस्