Logo

बूढीगंगा नगरपालिकामा पूनः मतदान गर्ने कि मतगणना गर्नेबारे आयोगले आजै निर्णय दिने



काठमाडौं, १२ जेठ । निर्वाचन आयोगले बाजुराको बूढीगंगा नगरपालिकामा फेरि मतदान कि मतगणना भन्नेबारे निर्वाचन आयोगले आजै निर्णय दिने भएको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आजै यसबारेमा निर्णय दिने जनाए । यसअघि उक्त नगरपालिकाको निर्वाचनको सम्बन्धमा आयोगका आयुक्त सगुनशम्शेर जबरा नेतृत्वको उच्चस्तरीय अध्ययन टोलीले प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन बुझाएको पनि एक साता पुग्न लागिसकेको छ । तर, प्रतिवेदन अध्ययन गरेर निर्णय लिन आयोगले सकेको थिएन ।

यसअघि आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले प्रतिवेदन अध्ययनपछि आयोगले के गर्ने भन्नेबारे चाँडै निर्णय लिने बताएका थिए । ३० वैशाखमा निर्वाचन हुँदा एमालेले बुथ कब्जा गरेको कांग्रेस नेता, कार्यकर्ताहरूको आरोप छ । उनीहरू फेरि मतदानको पक्षमा छन् । तर, एमाले नेता, कार्यकर्ताहरू भने बुथ कब्जा नभएको र धाँधली नभएको भन्दै मतगणनाको पक्षमा छन् । बाजुराको बूढीगंगा नगरपालिका महान्यायाधिवक्ता खम्मबहादुर खाती र एमाले नेता कर्णबहादुर थापाको गृहपालिका हो । खातीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् । उनी देउवानिकट मानिन्छन् ।

उता, थापा भने एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट मानिन्छन् । यी दुई व्यक्तित्वबीचको टकराव अहिले बाजुरामा देखिएको छ । निर्वाचन भएको आज दुई साता बित्न लाग्दासमेत मतपेटिका विद्यालयमै राखिएको छ । स्थानीयहरुले बालबालिकाहरुको पठनपाठन प्रभावित बनेको भन्दै तत्काल मतदान वा मतगणनाको लागि निर्णय लिईनुपर्ने माग गरेका छन् । दलहरूबीच मतगणना कि फेरि मतदानको विषयमा सहमति नहुँदा मतदान भएको दुई साता हुँदा पनि मतगणना भएको छैन । file photo

 



प्रतिक्रिया दिनुहोस्