Logo

हिन्दूवादीको मत स्वतन्त्रले तानेपछि



काठमाडौं, १३ जेठ । शहरी मध्यमवर्गीय नागरिकको प्रमुख दलहरुप्रतिको असन्तुष्टि बढेको स्थानीय तहको चुनावी नतिजाले प्रष्ट पारेको छ । राजधानी काठमाडौंको महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साह विजयी भए ।

बालेनलाई तटस्थ मध्यमवर्गको मत गएको देखिन्छ । दलहरुप्रति त्यस्ता मतदाता असन्तुष्ट देखिन्छन् । बालेनले कुनै त्यस्तो काम गरेको छैनन् जसले काठमाडौं महानगरपालिकाको विकासमा असर पारेको होस् तर दलहरुप्रतिको वितृष्णा र उनको लोकप्रीयता जीतको कारण बन्यो । बालेन कुनै अभियन्ता पनि होइनन् ।

बालेनलाई गएको अर्को मत भनेको हिन्दुवादी र राजावादी समर्थकको पनि हो । हिन्दुवादी र राजावादी परिचय बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मदनदास श्रेष्ठको मत निकै कम हुनुले पनि बालेनलाई त्यस्ता मत गएको देखिन्छ ।

धरानका मेयर जितेका स्वतन्त्रका हर्कराज राई भने अभियन्ता हुन् । उनी धरानको बेथिती र अव्यवस्थाको विरुद्ध बोल्दै आएका थिए । राज्यका निकायमा पुगेर उजूरी गर्ने र मिडियामा जाने पनि गर्दथे । उनको मुद्दा सामान्य नै थियो । खानेपानीको बेथिती हटाउने र जथाभावी प्रकृतिको दोहन रोक्ने । राई व्यक्तिगत रुपमा पनि सामान्य नै छन् । हर्कराज राईलाई पनि दलहरुप्रति असन्तुष्ट तटस्थ मत ओइरिएको देखिन्छ । उनले पनि हिन्दुवादी र राजावादीको मत समेत पाएका छन् ।

धनगढी उपमहानगरपालिकामा मेयर जितेका गोपाल हमाल पनि हिन्दूवादी परिचय बोकेका हुन् । उनले पनि दलहरुप्रति असन्तुष्ट बनेका तटस्थ नागरिकको मत तान्न सके । हमालले पाँच वर्ष अघि पनि मेयरमा चुनाव हारेका थिए । त्यतिबेला पनि उनी स्वतन्त्र उम्मेदवार थिए ।

जनकपुरधामको मेयर जितेका मनोजकुमार साह काँग्रेसका बागी हुन् । उनी अझै आफूलाई काँग्रेसमै रहेको भन्छन् । उनले निवर्तमान मेयर लालकिशोर साहलाई पराजित गरे । साहले जनकपुरधामका असन्तुष्ट काँग्रेस कार्यकर्ता मात्र नभई हिन्दूवादी मत पनि पाउन सके ।



प्रतिक्रिया दिनुहोस्