Logo

“बालेनहरूको विजय ‘ट्रेलर’ मात्र हो, भोलि नयाँ शक्तिको उदय हुन सक्छ”



काठमाडौं, १३ जेठ । वरिष्ठ चिकित्सक भोला रिजालले स्वतन्त्र उम्मेदवारहरुको विजय सुरुवात मात्र भएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. रिजालले भने, “बालेन शाह, गोपी हमाल, हर्क साम्पाङ लगायतको १३ पालिकामा विजय आजको आजै भएको कुरा होइन । राजनीतिक दलहरुले हामीले जे गरे पनि हुन्छ, जसलाई उठाए पनि जित्छौ भन्ने दम्भ देखाए । त्यसलाई जनताले अस्वीकार गरे । यो त ट्रेलर मात्र हो । भोलि नयाँ शक्तिको उदय हुन सक्छ । आउने चुनावमा पनि परिस्थितिले त्यतातिर डोहोर्याउँछ ।”
राजनीतिक दलहरुले युवाहरुको जोश, जाँगर र ऊर्जा लाई बुझ्न नसकेको पनि उनले बताए । डा. रिजालले भने, “यहाँ हरेक चिजमा हरेक क्षेत्रमा राजनीतीकरण भयो । राजनीतिलाई नै उद्योग बनाइयो । मुलुकमा राजनीतिबाहेक केही पनि भएन । दलहरुले एक अर्कालाई गालीगलौज मात्र गरे । आफ्ना सातआठ लाख कार्यकर्ता पोस्ने काम मात्र गरे । युवाको जाँगरलाई बुझेनन् । यो कुरा बुझेको भए मुलुकको यो अवस्था आउँदैनथ्यो ।”



प्रतिक्रिया दिनुहोस्