Logo

उपेन्द्र र महन्थ विभाजित हुँदा काँग्रेसले लियो लाभ, दुई नेता मिलाउने पहल चल्यो



काठमाडौं, १३ जेठ । मधेश आन्दोलनबाट उदाएका नेता हुन् उपेन्द्र यादव । कुनैबेला माओवादी जनयुद्धमा लागेका उपेन्द्र त्यहाँबाट अलग भई क्षेत्रीय मुद्दा उठाएर उदाए । मधेश आन्दोलनको नेतृत्व नै लिए ।

मधेश आन्दोलन उठ्दै गर्दा महन्थ ठाकुर पनि नेपाली काँग्रेस छाडेर अगाडि बढे । उक्त आन्दोलनले उनको परिचय पनि बदल्यो ।

मधेशको मुद्दा उठाएर अगाडि बढेका उपेन्द्र यादव र महन्थ ठाकुरलाई परिस्थितिले एउटै पार्टीमा समेत ल्यायो । तत्कालीन संघीय समाजवादी पार्टी फुट्न लाग्दा तत्कालीन राष्ट्रिय जनता पार्टीले रेस्क्यू गरेको थियो । राजपाको नेता थिए महन्थ र समाजवादी पार्टीको नेता उपेन्द्र थिए । पार्टी एक भई जनता समाजवादी पार्टी बन्यो । तर, उपेन्द्र र महन्थको द्वन्द्वले जसपा फुट्यो ।

२०७४ को स्थानीय र संसदको चुनाव अलग पार्टीबाट लडेपनि उपेन्द्र र महन्थबीच अघोषित तालमेलहरु भएका थिए । यसपटक भने दुवै एक अर्काविरुद्ध प्रस्तुत भए ।

उपेन्द्र काँग्रेससहितको पाच दलीय गठबन्धनसँग मिलेर बढे । महन्थ भने एक्लै चुनाव लड्न पुगे । केही ठाउँमा अघोषित तालमेलहरु गरे ।

उपेन्द्रको दल जसपाले ३० पालिका जित्यो । वीरगञ्ज महानगरपालिकामा जसपा जितेपनि विराटनगर महानगरपालिकामा उपेन्द्रका छोरा अमरेन्द्र यादव पराजित भए । जनकपुरमा जसपाका उम्मेदवार चौंथो स्थानमा पुगे ।

गठबन्धनमा रहेर चुनाव लडेपनि जसपाले २०७४ को स्थानीय चुनावमा भन्दा कम पालिका जित्यो । त्यतिबेला जसपाले ३४ पालिका जितेको थियो । वीरगञ्ज र जनकपुर एक्लैले जितेको थियो । यसपटक गठबन्धनमा रहँदा पनि पालिका संख्या घटेपछि जसपाभित्र खैलाबैला भएको छ ।

महन्थ ठाकुरको दल लोकतान्त्रिक समाजवादी पार्टीले १६ पालिका जित्यो । २०७४ को स्थानीय चुनावमा ठाकुर नेतृत्वको तत्कालीन राजपाले २५ पालिका जितेको थियो । उसको पनि पालिका जितेको संख्या छ ।

मधेश केन्द्रित नेताहरु उपेन्द्र र महन्थ विभाजित हुँदाको असर चुनावमा देखिएको छ । यसको प्रत्यक्ष फाइदा नेपाली काँग्रेसले लिएको छ । २०७४ को स्थानीय चुनावमा ठूलो धक्का खाएको काँग्रेसले यसपटक उसले सुधारेको छ । देशभर ३२९ पालिका जितिसकेको काँग्रेसले मधेश प्रदेशमा मात्र ४६ पालिका जितेको छ ।

झापा देखि कञ्चनपुरसम्म काँग्रेसको अवस्था सुध्रिएको छ । विशेषगरी मधेश प्रदेश र लुम्बिनी प्रदेशमा काँग्रेसले निकै सुधारेको छ । उपेन्द्र र महन्थको फुटको फाइदा काँग्रेसले लिएको देखिन्छ ।

फुटबाट नोक्शान पुगेको निष्कर्षपछि मधेश केन्द्रित नेताहरु उपेन्द्र र महन्थलाई मिलाउन लागिपरेका छन् । तर, त्यो सहज छैन । उनीहरु नमिलेमा स्थानीय चुनावमा भन्दा ठूलो धक्का खाने निश्चित छ ।



प्रतिक्रिया दिनुहोस्