Logo

ट्रयाक्टरको लाइसेन्सधारीले नै गणतन्त्रको मर्सिडिज चलाइरहेका छन्ः हृदयेश त्रिपाठी



काठमाडौं, १५ जेठ । जनता प्रगतिशील पार्टीका अध्यक्ष एवं सांसद हृदयेश त्रिपाठीले राजनीतिक नेतृत्वको गल्तीका निम्ति सि‌ंगो प्रणालीलाई दण्डित गर्नुनहुने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता त्रिपाठीले भने, “लोकतन्त्र सहिष्णुताले चल्ने पद्धति हो । हामीकहाँ राजनीतिक प्रतिद्न्द्वितालाई नै शत्रुताका रुपमा हेर्ने चलन छ । तर, राजनीतिक नेतृत्वको गल्तीका निम्ति प्रणालीलाई दण्डित गर्नु हुँदैन । जनताको छोरा राष्ट्रप्रमुख बन्ने वातावरण गणतन्त्रले नै दिएको हो । गणतन्त्रमा सबथोक राम्रो भएको छ भन्ने पनि गलत हो, सबथोक नराम्रो भएको छ भन्ने पनि गलत हो ।”
नेता त्रिपाठीले गणतन्त्रलाई सरापेर मुलुक अघि बढ्न नसक्ने पनि औंल्याए । उनले भने, “हाम्रो समस्या के हो भने चालक सिटमा बसेकाले परिवर्तनलाई आत्मसात् गर्न सकेनन् । अझ भनौ, ट्रयाक्टरको लाइसेन्सधारीले मर्सिडिज चलाइरहेका छन् । यस्ता विरोधभास छ । तर गणतन्त्रलाई सरापेर मुलुक अघि जाला भन्ने कसैले नसोचे पनि हुन्छ । प्रधानमन्त्री रहिसकेका र प्रधानमन्त्री रहेका मानिस पनि एकअर्काको मानमर्दन गरिरहेका छन् । अब व्यक्तिको उमेर र मुलुकको आवश्यकताले नेतृत्व परिवर्तनको खाँचो देखिएको छ ।”
नेता त्रिपाठीले उत्ताउलो बजेटले मुलुकमा झन् संकट थप्ने चिन्ता व्यक्त गरे । उनले भने, “हाम्रो क्षमता र अर्थतन्त्रको सीमाको आलोकमा बजेट आउनुपर्ने हो । तर उत्ताउलो बजेट आउने देखिएको छ । यथार्थमा आधारित नभएर आउने लोकप्रियतावादी, चुनावमुखी र गैरजिम्मेवार ढंगले बजेट आउँदा मुलुकमा झन् संकट थपिन्छ ।”
कार्यक्रममा उनले प्राइम टाइम्स टेलिभिजनको पाँचौं वार्षिकोत्सवका निम्ति शुभकामना पनि दिए । उनले भने, “तपाईंको रिपोर्टर्स क्लब नेपाल हाम्रा निम्ति जनसंसद् नै हो । रेडियो नेपाली नेटवर्कले पनि त्यस्तै काम गरेको छ । टेलिभिजन पनि जनता र गणतन्त्रको पक्षमा र विभेद र विकृतिको पक्षमा लागोस्, शुभकामना !”



प्रतिक्रिया दिनुहोस्