Logo

विमान दुर्घटनाका मृतक ४ भारतीयको कथाः सम्बन्ध बिच्छेद भएपनि वर्षको १० दिन मिलन



काठमाडौं, १६ जेठ । तारा एयरको विमान दुर्घटनामा परेका ४ जना भारतका नागरिकहरु एकै परिवारका हुन् । अशोक त्रिपाठी र बैभवी बन्देकर त्रीपाठीले दुई दशक सँगै जीवन बिताएका थिए । तर, सम्बन्धमा खटपट भएपछि अलग भएका थिए ।

५४ वर्षीय अशोक उडिसामा कम्पनी चलाउँथे र ५१ वर्षीया वैभवी मुम्बईको एक कम्पनीमा काम गर्थिन् । उनीहरुका २२ वर्षीय छोरा धनुष र १५ वर्षीया छोरी ऋतिका थाने शहरको रुस्तोमजी अथेना अर्पाटमेन्टमा बस्थे ।

अदालतको आदेशले दुवै अलग भएका थिए । अशोक एक्लै बस्थे भने छोराछोरी वैभवीसँग बस्थे । वर्षमा १० दिन उनीहरुको मिलन हुन्थ्यो किनभने अदालतले अशोक र वैभवीलाई हरेक वर्ष १० दिन सँगै बस्न आदेश समेत दिएको थियो । उनीहरु आदेश पालनाका लागि भेट्थे र कतै घुम्न निस्कन्थे । यसपटक गन्तव्य नेपाल बन्यो ।

अशोक यसपटक पारिवारिक मिलनमा नेपाल घुम्न आउँदा उत्साही थिए । छोराछोरीसँग लामो समयपछि भेटेका थिए । उनीहरु पोखरा हुँदै जोमसोमका लागि तारा एयरको विमानबाट उडे । तर, अशोकसहित त्रीपाठी परिवार कहिले फर्किएनन् । उनीहरुको छोटो मिलन नै मृत्यु बन्यो ।

त्रिपाठी परिवार १३ जेठमा काठमाडौं आएको थियो । हवाई मार्गबाट काठमाडौं आउँदा निकै उत्साही र खुशी देखेको कैलाश भिजन ट्रेकका सागर आचार्यले इन्डियन एक्सप्रेसलाई भनेका छन् । आचार्य उनीहरुको यात्रा व्यवस्थापक थिए । त्रिपाठी परिवारले पशुपति गएर आरतीमा सहभागिता जनाएका थिए ।

१४ जेठमा त्रिपाठी परिवार सडक मार्गबाट पोखरा गएका थिए । सोही राति पोखरामा बसेर विहानै ६ बजे उड्ने विमान भेट्न पुगेका थिए । मौसमको खराबीले विमान ढिलो गरी उडेको थियो । विमान त उड्यो तर अवतरण गर्न पाएन । मुस्ताङको जोमसोम नपुग्दै डाँडामा ठोक्किएर दुर्घटनामा पर्यो ।

अशोक राम्रै परिवारका थिए । उनका पिता न्यायाधीश थिए । सफ्टवेयर इञ्जिनियर वैभवीसँग उनको विवाह भएको थियो ।

वैभवी आमासँगै मुम्बईमा बस्दै आएकी थिइन् । ८० वर्षीय आमा विरामी अवस्थामा छिन् । उनी नेपाल जानुअघि बहिनीलाई आमाको हेरविचार गर्न छाडेर गएकी थिइन् ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्