Logo

“७५ लाख नेपाली भारतमा बिना भिसा काम गरिरहेका छन्, बिना भिसा चीन जान सक्छन् ?” (भिडिओसहित)



काठमाडौं, २५ जेठ । भारतीय जनता पार्टीका नेता एवं पूर्व विदेश विभागका प्रमुख विजय जोलीले भारतले नेपाललाई तन, मन, धन र खुनले सहयोग गरेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग हिजो राति कुरा गर्दै नेता जोलीले भने, “नेपाल र भारतबीचको सम्बन्ध पहिले पनि ठीक थियो, अहिले पनि ठीक छ, भोलि पनि ठीक रहनेछ । भारत नेपालको शक्तिशाली, विकसित र नेपाली दाजुभाइ शिक्षित भएको देख्न चाहन्छ । नेपालीको दिल र दिमागको जित्न चाहन्छ । यति हुँदाहुँदै पनि भारतविरोधी सेन्टिमेन्ट देख्दा मलाई हैरानी हुन्छ धमलाजी । नेपालको शान्ति सम्झौता अटलबिहारी बाजपेयीको प्रयासमा भएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नौ वर्षमा पाचौं पटक नेपाल यात्रा गर्नुभयो । कुनै पनि भारतीय प्रधानमन्त्रीले छिमेकी देशको दुई पटक भ्रमण छैनन् । नेपाल भारतको आत्मा हो, भाइ हो, साथी हो । भारतले नेपालका जनताप्रति आफ्नो तन, मन, धन र खुनले सहयोग गरिरहेको छ । यो पक्ष बिर्सनु भएन ।”

नेपालले झीनामसिना समस्यामा भारतलाइ दोषी देखाउन नहुने पनि जोलीले बताए । उनले भने, “एउटै परिवारका दाजुभाइबीच पनि भिन्न भिन्न दृष्टिकोण हुन्छ । भारतले लिपुलेकदेखि कैलाश मानसरोवरसम्म जाने ८० किलोमिटर सडक बनाउँदा विवाद गर्नुपर्ने केही थिएन । नेपाल र भारतको सुरक्षाका निम्ति सडक बनाइएको हो । तर यसबारे नेपालले भारतसँग संवाद गरेन । संसदमा लगेर चुच्चे नक्सा पास गर्यो । मधेसी नेपाली नै हुन् । मधेसी आन्दोलन भारतको समर्थनमा भएको आरोप लगाइयो । नाकाबन्दी भारतले लगाएको थिएन । संयुक्त राष्ट्रसंघमा भारतलाई आरोप लगाइयो । आफ्ना कमीकमजोरीमा भारतमाथि दोष नलगाऊँ ।”

भारतले जति नेपाललाई चीनले माया गर्नै नसक्ने उनले औंल्याए । जोलीले भने, “नरेन्द्र मोदी लुम्बिनी जानु प्यारका रिस्ते नभए के हो ? मोदी किन पशुपति मन्दिर जानुभयो ? काठमाडौंमा सय करोडको क्यान्सर हस्पिटल बनाउने भन्नुभयो । उहाँ नौ वर्षमा पाँच पटक नेपाल भ्रमण गर्नुभयो । चीनको राष्ट्रपतिले कति पटक नेपाल भ्रमण गर्नुभयो । नेपालमा ५ हजार मेन्डोरियन भाषा सिक्ने स्कुल खुले । हामीले नेपाल र चीनको सम्बन्धको कहिल्यै विरोध गरेनौं । कम्युनिस्ट पार्टी मिलाउन चीनका राजदूतले कति चलखेल गर्नुभयो, भारतका राजदूत त्यसरी कहिल्यै लागेका थिए ? चीनले हस्तक्षेप गर्यो भनेर भारतले प्रतिक्रिया दियो ? भारतमा ७५ लाख नेपाली बिना भिसा काम गरिरहेका छन्, चीनमा बिना भिसा जान सक्छन् ?”

दुई देशबीचका समस्या विवादभन्दा संवादबाट समाधान गर्नुपर्ने उनको सुझाव छ । जोलीले भने, “नेपालका राजनीतिक अस्थिरता छ । कहिले कम्युनिस्ट पार्टीको सरकार बन्छ, कहिले नेपाली कांग्रेसको । भारतमा सन् २०१४ मा नरेन्द्र मोदीले सरकार चलाइरहनुभएको छ । संसारका सबै विवादको हल हुन्छ । तर संवाद नगरी हल राख्न सक्दैन । यो दोस्तीको युग हो, द्वन्द्वको युग होइन । भारत र नेपाल सार्वभौम मुलुक हुन् । केही विवाद छन् भने संयम, समझदारी र वार्ताबाट समाधान गर्नुपर्छ । नेपालमा भारतविरोधी नारा लाग्छन्, मोदीको पुत्ला जलाउने काम हुन्छ । भारतविरोधी नारा नलगाए चुनाव जित्दैनन् । मलाई लाग्छ, म त अघिल्लो जन्ममा नेपाली थिएँ । म नेपाल गइरहन्छु । त्यसैले म नेपाललाई पाकिस्तान र चीनको समकक्षी मान्दिनँ । धेरैले ऋषि धमलालाई भारतीय मान्छन्, विजय जोलीलाई पनि धेरैले नेपाली मान्छन् । किनभने हाम्रो सुरत, सिरत, सोच एउटै छ । हामी चाउमिन होइन, रोटी र भात खान्छौं । हामी आपसमा कसरी लड्न सक्छौं ?”

भारतले नेपाललाई हिन्दुराष्ट्र फर्काउन चाहेको हो भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “विजय जोलीको जोर चल्थ्यो भने नेपालमा मात्र नभएर दक्षिण एसियालाई नै हिन्दुराष्ट्र बनाउन चाहन्थें । मैले चाहेर मात्र हुन्छ र ? हिन्दुराष्ट्र भन्नुस् कि राजतन्त्र, नेपाली जनताले नै तय गर्ने हो । भारत नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न चाहँदैन । मोदीजी, जेपी नड्डा र भाजपाले नेपालको मामिलामा दखल अन्दाजी गर्दैनन् ।” नेपाल सरकारले एग्रेसिभ मार्केटिङ गर्ने हो भने ५० लाख भारतीय पर्यटक भित्र्याउन कठिन नहुने पनि जोलीले औंल्याए ।



प्रतिक्रिया दिनुहोस्