Logo

एआइजी विश्वराजमाथि चुनौतीः काममा फर्कने कि राजीनामा दिने



काठमाडौं, २५ जेठ । नेपाल प्रहरीका एआइजी विश्वराज पोखरेलमाथि नयाँ चुनौती आएको छ । उनको ३५ दिने बिदा सकिएपछि फेरि बिदाका लागि निवेदन बुझाएकोमा आइजीपी धीरजप्रताप सिंहले अस्वीकृत गरिदिएका छन् ।

पोखरेलले सहयोगी पठाएर बिदाका लागि निवेदन बुझाएकामा अस्वीकृत मात्र गरेनन् सिंहले घर ठेगानामा जानकारी गराउन निर्देशन समेत दिएका छन् । प्रदेश समन्वय विभागमा सरुवा गरिएका पोखरेलले आइजीपीमा सिंहलाई नियुक्ति दिएकोमा सर्वोच्च अदालतमा रिट दायर गरिएका थिए । त्यसको फैसला आउन बाँकी छ ।

रिटमा पोखरेलले आफूलाई वरिष्ठताका आधारमा आइजीपी नियुक्तिको आदेश दिनुपर्ने जिकिर गरेका छन् । उनलाई अब यही रिटको भर छ ।

एआइजीमा उमेरहदले ५६ वर्ष कटेपछि पोखरेल साउनमा स्वतः सेवानिवृत्त हुनेछन् । यसकारण उनका लागि साउन अगावै फैसला पक्षमा आओस् भन्ने छ । त्यसैले फैसला कुर्दै उनले पुनः बिदा माग्न निवेदन लेखेर पठाएका थिए ।

बिदा अस्वीकृत भएपछि पोखरेलले सरुवा पत्र बुझेर हाजिर हुनुपर्नेछ । अन्यथा उनले राजीनामा दिनुपर्ने हुन्छ । हाजीर पनि नहुने र राजीनामा पनि नदिने भएमा कारबाहीमा पर्न सक्छन् ।



प्रतिक्रिया दिनुहोस्