Logo

पार्टी निर्णय नमान्ने मन्त्री एकीकृत समाजवादीमा रहँदैनः जगन्नाथ खतिवडा



काठमाडौं, २६ जेठ । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नै हुने काम गरेको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खतिवडाले भने, “यो तनाव सिर्जना गर्न देउवाजी किन लाग्नुभयो, मैले बुझेको छैन । आआफ्नो व्यवस्थापन दलहरु आफैं गर्छन् । गठबन्धनलाई उहाँले किन नियन्त्रण गर्नुपर्यो ? यो संसदीय मर्यादा र आचरणसँग मेल खाँदैन । प्रधानमन्त्रीले जे गर्नुभएको छ, त्यो ठीक भएन । आफ्नो काम गर्नुपर्नेमा नगरेकामा हामीलाई सबैभन्दा दुःख छ । उहाँले हामीलाई अप्ठ्यारोमा पार्नुभएको छ । अझै पनि हामीलाई एकदुई दिनभित्र मन्त्रीहरु बदल्ने काम गर्नुहुन्छ भन्ने आशा छ ।”
पार्टीको निर्णय मान्दैनौं भन्ने मन्त्री पार्टीको नहुने उनले स्पष्ट पारे । खतिवडाले भने, “निर्णय गरेर नाम पठाएपछि कार्यान्वयन गर्ने जिम्मेवारी अध्यक्षकै हो । मन्त्रीहरुले पार्टीलाई सहयोग गर्नुपर्छ । यसलाई नमान्ने कुरा केही छैन । मन्त्रीहरुले त अध्यक्षसँग परामर्श गरेर काम गर्ने हो । मन्त्रीहरुले फर्केर अध्यक्षसँग सल्लाह गर्नुभयो कि गर्नुभएन ? मलाई थाहा छैन । तर पार्टी अध्यक्षविरुद्ध प्रधानमन्त्रीकहाँ जाने अधिकार मन्त्रीहरुलाई छैन । त्यो धेरै ठूलो गल्ती हो । व्यक्तिगत र राजनीतिक नैतिकता, विधि, कानुन, प्रणाली कतैबाट पनि नमिल्ने कुरा हो ।”
पार्टी पूर्ववत् निर्णयबाट ब्याक नहुने पनि उनले स्पष्ट पारे । खतिवडाले थपे, “कुनै खण्डखातिर वा अपवादमा केही नाम तलमाथि होला । आम रुपमा पार्टीले गरेको निर्णय कार्यान्वयन हुन्छ । कसैले पनि अफवाहको पछि लाग्नु आवश्यक छैन । पार्टी ब्याक हुने सम्भावना छैन ।”
तपाईंको पार्टी त फेरि विभाजन हुने भयो नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “सांसद पार्टीसँग हुन्छ कि व्यक्तिसँग हुन्छ ? यस्तो दम्भ देखाउनेको मूल्यांकन इतिहासले गर्ने नै छ । समयले भविष्यमा दण्डित गर्ने छ । त्यसैले विभाजनको कल्पनै गर्नूस् । विद्रोह गरेर आएको पार्टीमा के विभाजन हुन्छ र ?”
उनले गठबन्धन आगामी पाँच वर्षसम्म टिक्ने ठोकुवा पनि गरे । खतिवडाले भने, “गठबन्धन भनेको कसिकसाउ कानुन होइन, राजनीतिक बन्धन मात्र हो । तर यो गठबन्धन लामो समय टिक्नुपर्छ । कम्तीमा पनि आगामी ५ वर्षसम्म टिक्नुपर्छ । यसले राजनीतिक स्थायित्व र सुशासन दिन मदत पुर्याउने छ ।”



प्रतिक्रिया दिनुहोस्