Logo

यसकारण मन्त्री राजेन्द्र श्रेष्ठ र सांसद रामबाबु यादवबीच कुटाकुट



काठमाडौं, २६ जेठ । सिंहदरबारस्थित संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयमा मन्त्रीको कार्यकक्ष केहीबेर तनावग्रस्त भयो । त्यहाँ मन्त्री राजेन्द्र श्रेष्ठ र सांसद रामबाबु यादवबीच हात हालाहाल भयो ।

जनता समाजवादी पार्टीको मधेश प्रदेशका कमाण्डर समेत रहेका रामबाबु यादव आक्रोशित हुँदै मन्त्रालय पुगेका थिए । त्यहाँ श्रेष्ठलाई भेटेपछि उनले आफूहरुको क्षेत्रमा बजेट किन नहालेको भनी प्रश्न गरे । श्रेष्ठले त्यसको बचाऊ गर्न थाले । तर, यादव आक्रोशित भई हाम्रो भोटबाट समानुपातिक सांसद बनेर मन्त्री बन्ने अनि हाम्रो क्षेत्रमै बजेट नहाल्ने भन्न थाले ।

श्रेष्ठलाई यादवको भनाईले घोच्यो उनले पनि आक्रोश पोखे । त्यसपछि यादवले श्रेष्ठलाई हात हाले । श्रेष्ठले पनि प्रतिकार गरे । दुईबीच कुटाकुट हुन थालेपछि पिएसओ भित्र छिरेर रोके ।

मन्त्री श्रेष्ठको सचिवालयबाट सिंहदरबार प्रहरीलाई फोन गयो । इन्सपेक्टरको नेतृत्वमा टोली मन्त्रीको कक्षमा पुग्यो । सांसद रामबाबु यादवले आन्तरिक मामला हो भनी पठाए । घटनाको प्रत्यक्षदर्शीका रुपमा जसपाका निलम्बित सांसद हरिनारायण रौनियार पनि थिए ।

बारा क्षेत्र नं ३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन रामबाबु यादव । काठमाडौंका राजेन्द्र श्रेष्ठ भने समानुपातिकतर्फका सांसद हुन् ।



प्रतिक्रिया दिनुहोस्