Logo

यादवको एकता प्रस्तावको अन्तर्य



काठमाडौं, जेठ २७ । अघिल्लो वर्षको जेठ दोस्रो साता केपी ओली नेतृत्वको सरकार ढल्न लाग्दा महन्थ ठाकुर टेको बनेर टिकाउन पुगेपछि उनीसँग उपेन्द्र यादवको पार्टीगत सम्बन्ध विच्छेद भएको थियो।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनको परिणामपछि जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष ठाकुरसँग मिलापको हात अघि बढाएर पानी बाराबारको राजनीतिलाई तरंगित बनाइदिएका छन्।

जसपा अध्यक्ष यादवसँग खटपट भएपछि ठाकुरले अलग भएर लोसपा गठन गरेका हुन्। मधेस प्रदेशको राजधानी जनकपुरधामबाट जसपा अध्यक्ष यादवले मधेसको मत र जनमत विभाजन हुँदा मधेसी जनतालाई क्षति पुगेको भन्दै करिब एक वर्षअघि जसपाबाट अलग भएका ठाकुरसँग पार्टी एकताका लागि प्रस्ताव गरेपछि यसले मधेसको राजनीतिमा तरंग ल्याइदिएको छ।

यादवले बुधबार आयोजित सार्वजनिक कार्यक्रममा भनेका थिए, ‘अब फुटेर होइन, जुटेर अघि बढ्नुपर्छ।’ तत्कालीन संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) एक भएर जसपा बन्दा मधेसको मत एकढिक्का थियो। जसपा विभाजित भएर लोसपा बनेपछि न मधेसी जनतालाई फाइदा भयो न जसपा र लोसपालाई नै।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा दुवै दलले अपेक्षित नतिजा हात पार्न सकेनन्। यसको कारण टुटफुट नै हो। जनकपुरधामबाट यादवले भनेका थिए, ‘स्थानीय तह निर्वाचन परिणामले हामीलाई मिल्न सन्देश दिएको छ।’ यादवले जसपाबाट ठाकुर नेतृत्वमा निस्केको समूहले समीक्षा गर्ने बेला आएको बताए।

उनले भनेका थिए, ‘पार्टी छाडेर के फाइदा भयो? नोक्सान दुवैतिर भएको छ। फाइदा त कसैलाई भएको छैन। विभाजनको औचित्य छैन। षड्यन्त्रपूर्ण ढंगले भड्काएर पार्टी विभाजन गराइयो जसले न लोसपालाई हित भयो न मधेसी जनतालाई नै। म खुला हृदयले महन्थजीलाई आग्रह गर्दछु–अझै समय छ, फुटेर होइन जुटेर अगाडि बढौं। जुटेर अगाडि बढ्न म तयार छु। लोसपाका साथीहरू आए खुला हृदयले गला लगाउन तयार छु।’

स्थानीय तहको निर्वाचनअघि ठाकुर नेतृत्वको लोसपा र यादव नेतृत्वको जसपाबीच पानी बाराबारको स्थिति थियो तर निर्वाचन परिणाम अपेक्षाकृत नआएपछि यादवले लचिलो भएर ठाकुरसँग सम्बन्ध सुधारको हात अघि बढाएका हुन्। पानी बाराबारको अवस्थामा अचानक यादवले ठाकुरसँग एकताका लागि किन आग्रह गरे त? राजनीतिक विश्लेषक तुलानारायण साह यसलाई रणनीतिक र गणनात्मक हिसाबकिताबसहितको प्रस्ताव भएको बताउँछन्। साह यो प्रस्तावलाई स्थानीय तह निर्वाचन परिणामको उपज ठान्छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्